बुटवल–नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिएका छन्।
प्रगतिशील पत्रकार संघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर बाटो खोलिदिनुपर्ने बताएका हुन्।
‘अब ओलीले बाटो खोलिदिनुपर्छ, छलछाम गर्न खोज्नुहुँदैन, गल्ती स्वीकार गरेर नयाँ सरकारका लागि राजीनामा दिएर बाटो खोलिदिनुपर्छ,–सिंहले पत्रकारहरुसँग भने–कानूनविदले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको जोडदार वकालतप्रति पनि धन्यवाद दिन चाहन्छु, बहुमतको सरकारलाई अंगभग गरेर ओली आफैले अस्थिरता पैदा गरेका हुन्, अब उनले निर्विकल्प अब बाटो खोलिदिनुपर्छ।’
प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानलाई बलियो बनेको उनले बताए।
उनले थपे,–‘सर्वोच्चको फैसलाले सबै कुरा समाधान भयो भन्ने त हैन, अब पनि नयाँ–नयाँ जटिलताहरू थपिँदै जानेछन्, तरपनि ओलीले जुनखालको अस्थीरता ल्याउन खोजेका थिए त्यो रोकिएको छ।
उनले तराईमा विखण्डकारी शक्तिहरुको चलखेल बढ्ने, एमसीसी पारित गराउन चाहने शक्ति एकजुट हुनसक्ने सम्भावना रहेको बताए।
‘एमसीसी पास गराउन चाहनेहरु मिलेर सरकार बनाउन पनि सक्छन्–उनले भने,–केही राजावादीहरु पनि सलबलाउन सक्छन्, तर मुलुकलाई त्यो दिशामा जानबाट रोक्नुपर्छ।’