विराटनगर-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा राईविरुद्ध नेकपा दाहाल–नेपाल समूहका सांसद इन्द्र आङ्बो र लक्षुमन तिवारी समर्थक रही अविश्वास प्रस्ताव पेस भएको हो । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची तय गरेका थिए ।
बैठक सुरु हुनासाथ सभामुख भण्डारीले प्रस्तावक आङ्बोलाई अविश्वास प्रस्ताव पेस गर्न समय दिए ।
आङ्बोले अविश्वास प्रस्ताव पेस गर्दै प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी र संविधान विपरीत काम गर्ने प्रधानमन्त्री केपी ओलीको कार्यको समर्थन गरेकोले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु परेको बताए ।
भने,“प्रतिनिधिसभा विघटनपछि नेकपा पनि विभाजित अवस्थामै रहन पुग्यो । प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराए पनि सरकारले लोकतान्त्रिक ढंगले यसबारे छलफल गर्न अग्रसर भएन ।”
नेकपा दाहाल–नेपाल समूहबाट राईविरुद्ध सांसद तथा नेकपाका नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गत पुस १२ प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
अविश्वास प्रस्ताव दर्ता भएसँगै सरकार पक्षले बैठक चल्न नदिने र अवरुद्ध गर्ने रणनीति लिएको थियो ।
सरकारपक्षका सांसदले यसअघिको बैठक अवरुद्ध गरेका थिए । आइतबारको बैठकमा पनि मन्त्री र सत्ता समर्थक सांसदहरु भने सहभागी भएनन् ।