काठमाडाैँ- प्रचण्ड–माधव समुहमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्ने भएका छन्। केन्द्रीय सदस्य तामाङले आफू ओली समूहमा फर्कन लागेको बताए।
शनिबार आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त रहेका कारण विराटनगरमा आयोजित आमसभा सहभागी हुन नसकेको बताउँदै सोही आमसभामा प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गर्ने उनले जानकारी दिए।
लामो समयसम्म नेकपा अध्यक्ष माधवकुमार नेपालसँग निकट रहेका तामाङ र राई श्रीमान श्रीमती हुन्। सिन्धुपाल्चोकका तामाङ विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राई प्रदेश १ की प्रदेशसभा सदस्य हुन्।
यसअघि पुस ६ गते ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका तामाङ त्यसको केही सयमपछि प्रचण्ड–नेपाल समूहमा गएका थिए। उनले पूर्व एमालेहरु एक हुनुपर्ने बताउँदै त्यसैका लागि आफू ओली नेतृत्वको नेकपामा फर्किंन लागेको बताए।