भैरहवा । रुपन्देहीको मर्चवारमा उद्घाटन हुनै लागेको झोलुङ्गे पुलको शिलालेख उद्घाटन गर्नु भन्दा अगावै गायब भएको छ ।
सम्मरीमाई गाउँपालिका वडा नं. ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.२ लाई जोडने पुल उद्घाटन हुनुपुर्व नै शिलालेख हराएको हो ।
२ करोड ४५ लाखको लागतमा अर्घाखाची धुलिखेल बाबुल जेभीले उक्त पुल निर्माण सम्पन्न गरेको थियो । निर्माण कम्पनिले बिहीबार तयारी अवस्थामा राखेको शिलालेख उद्घाटन गर्नु भन्दा पहिलै नै गायब भएको हो ।
शिलालेख शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले अनावरण गरी उद्घाटन गर्ने कार्यक्रम भए पनि झुलुङ्गे पुलमा लगाइएको शिलालेख चोरी भएपछि केही बेर अलमल भएको थियो । त्यैपनि शिलालेख बिनै रिबन काटेर पुलको उद्घाटन भएको छ ।
पुलको उद्घाटनमा मुख्यमन्त्री पोखरेलले चोरी भएको शिलालेख प्रहरीमा उपलब्ध गराउनेलाई ब्यक्तिगत ५ हजार पुरस्कार दिने घोषणा गरे । उनले भने–‘शिलालेख प्रहरी सम्म पु¥याइदिनेलाई ५ हजार नगद पुरस्कारले पुरस्कृत गर्ने छौं ।’
‘के प्रयोजनको लागि शिलालेख लगिएको, कसको भनाईमा त्यस्तो काम गरिएको जानकारीको अपेक्षा राखेको छु’ भन्दै उनले अबको दिनमा त्यस्ता काम नगर्न आग्रह गरे । दानव नदीमा सस्पेन्सन सहितको २ सय ३ दमलव ८ मिटर लामो भुलुङ्गगे पुल ठेकका सम्पन्न गर्नुपर्ने मिति भन्दा १४ दिन अगावै निर्माण भएको छ ।
यसैगरी भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलालेख चोरी भएको प्रति दुख ब्यक्त गरे । शिलालेख चोरी गर्नेको खोजी गर्न र पुनः अर्को शिलालेख लगाउन उनले निर्देशन दिएका छन् ।