बुटवल । नागरिक अभियन्ताले बुटवलमा फागुन ९ गते अर्थात् आउँदो आइतबार नागरिक प्रदर्शन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधान विपरित प्रतिनिधि सभा विघटन गरी प्रतिगमन गरेको’ विरोधमा बुटवलमा नागरिक आन्दोलनको आयोजना गरिएको हो ।
आइतबार साँझ ४ बजे पुष्पलाल पार्कको खुला स्थलमा प्लेकार्ड सहित नागरिक प्रदर्शनको आयोजना गरिएको नागरिक अभियन्ता रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
आज अभियन्ताहरुको बुटवलमा सम्पन्न भएको ‘के का लागि नागरिक आन्दोलन ?’ विषयक अन्तरक्रिया कार्यक्रमले आइतबार प्रदर्शन गर्ने निर्णय गरेको हो ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगमनको विरोध गर्दै अग्रगमनका लागि आन्दोलन आवश्यक रहेको’ औंल्याएका थिए ।
कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै अभियन्ता रामचन्द्र श्रेष्ठले हालका लागि अग्रगमनको पहिलो विन्दु संसद पुनःस्थापना भएको बताउँदैं राजनीतिक मुद्दाका रुपमा उठिरहेका शासकीय स्वरुप वा राज्यका चरित्र जस्ता विषयलाई त्यसपश्चात विमर्शवृत्तमा ल्याउनुपर्ने धारणा राखेका थिए ।
‘तत्कालका लागि ०७२को यथास्थितीमा कायम रहनु नै अग्रगमन हो । त्यसको पहिलो विन्दु संसद पुनःस्थापना हो । यसबाहेक ‘ओलीगामी प्रतिगमन’लाई संसदीय व्यवस्थाको असफलताको दुहाई दिएर क्रान्तिको ठूलो सपना देख्नु केवल मृगमरीचिका मात्र ठहर्छ ।’ उनले भने-‘ओलीगामी प्रतिगमनको सशक्त विरोधदेखि ज्ञान निर्माण र जनजीविकाको प्रश्नसम्म आजको नागरिक आन्दोलनको मद्दा हो ।’
श्रेष्ठको अवधारणापत्रमाथि टिप्पणी गर्दै अभियन्ता सुमिनाले वर्तमान राजनीतिक परिघटनाहरुबारे जानकारी दिदैं नागरिक आन्दोलनको ‘घेरालाई फराकिलो’ पार्दै लैजानुपर्ने बताइन् । अर्का अभियन्ता कुल शर्माले प्रतिनिधि सभा पुनःस्थापना नै अग्रगमनको बाटो रहेको स्वीकारोक्ती दिदैं यसका लागि नागरिक दवाव अझैं आवश्यक रहेको बताए ।
कार्यक्रममा नागरिक समाजका अगुवा पदम कार्की, राजनीतिकर्मी मनिकर कार्की तथा पंकज राईले ‘संबैधानिक सर्बोच्चता कायम राख्नका लागि नागरिक आन्दोलन आवश्यक रहेको’ औंल्याएका थिए । बुटवलका युवा नागरिक तथा अभियन्ताहरुको उपस्थिती रहेको उक्त अन्तरक्रिया कार्यक्रमको सञ्चालन कृष्ण गाउँलेले गरेका थिए ।