बुटवल । संंसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दै यसको अन्त्यका लागि ‘क्रान्तिको झण्डा उठाउने’ कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चाको आयोजनामा बुटवलमा भएको जनसभामा बोल्ने नेताहरुले बताएका छन् ।
चारवटा कम्युनिष्ट पार्टीहरुकोे रणनैतिक संयुक्त मोर्चाले आज बुटवलको ट्राफिकचोकमा आयोजना गरेको जनसभालाई सम्बोधन गदैं मोर्चाका नेताहरुले उक्त उद्घोष गरेका हुन् ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ले अहिलेको राजनीतिक संकट व्यक्तिबाट नभई व्यवस्थाबाट उत्पन्न भएको टिप्पणी गरेका छन् । उनको पार्टीलगायत अन्य चार कम्युनिष्ट पार्टीहरुको संयुक्त मोर्चाले बुटवल आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै आहुतिले भने–‘दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको हो ।’ उनले संसदीय व्यवस्थाका विरुद्ध ‘क्रान्तिको झण्डा उठाउने’ बताए ।
कार्यक्रममा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रतिगामी संसदीय व्यवस्था खतम गरि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षको आंधीबेहरी ल्याउंनुपर्नेमा जोड दिए ।
मोर्चाका सदस्य समेत रहेका उनले विप्लवमाथिको प्रतिवन्ध हटाउनुपर्ने बताउँदैं विप्लवका राजनैतिक समस्या ‘दमनबाट होइन राजनैतिक रुपमै’ हल गर्न आग्रह गरे । नेकपाका संयोजक ऋषिराम कट्टेलले सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध जनताले खारेज गरेको बताए । संसदीय व्यवस्था रहेसम्म मुलुकले निकास नपाउने बताउँदै उनले कम्युनिष्टको नाममा ओली–प्रचण्ड ठग भएको टिप्पणी गरे ।
मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको बताए । अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुंन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी, वामपन्थी नेता शसिधर भण्डारी,माक्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर, नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार राङवाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व बुटवलको राजमार्गचौराहबाट शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि ट्राफिकचोकमा पुगेर जनसभामा परिणत भएको थियो ।