बुटवल । २०५४ सालको स्थानीय निर्वाचन अनि त्यसयताका अन्य चुनावहरुमा पनि उमेद्वारको रुपमा गोपाल भट्टराईको चर्चा पटक–पटक हुन्थ्यो । भट्टराई उमेदवार बन्ने चर्चा हुने, पार्टीको स्थानीय कमिटीको सिफारिसमा पनि पथ्र्यो । तर टिकट भने अर्कैको पौल्टामा जान्थ्यो । २२ वर्ष अघि २०५४ सालको स्थानीय चुनावमा वडाबाट उमेदवार बनाएर गोपाल भट्टराईलाई जिल्ला विकास समितिमा पठाउने तयारी पनि गरियो । तर अरु नै उमेदवार भए । त्यसको १० वर्ष पछि मुलुकमा संविधान सभाको चुनाब भयो । २०६४ सालको संविधान सभाको चुनावमा समानुपातिक उमेद्वारतर्फ गोपाल भट्टराईको पनि चर्चा चल्यो । ‘उमेद्वारको रुपमा अन्तिमसम्म चर्चा थियो । तर सूचीमा परिन’–उनले पटक–पटकका अनुभव सुनाए–‘जिल्लाको सिफारिशमा नाम हुन्थ्यो । पार्टीले मिलाउने क्रममा आउट भइन्थ्यो भनम् ।’
२०७० सालको अर्को संविधान सभाको चुनावमा पनि उमेद्वारको रुपमा भट्टराईको चर्चा भयो । तर ०६४ कै शिलशिला दोहोरियो ।
२०७४ सालको चुनावमा भने गोपाल भट्टरार्ई उमेदवारको सूचीमा अटाए । प्रतिनिधि सभाको समानुपातिकतर्फ पार्टीले उनलाई अघि सार्यो । सुचीमा केही पछाडिको क्रममा नाम रहनुु, त्यसमा पनि संसदमा महिला तथा अन्य आरक्षण समुहको संख्या पुराउनुपर्ने भएपछि गोपाल भट्टरार्ईले प्रतिनिधि सभामा प्रवेश पाएनन् । प्रतिनिधि सभामा प्रवेश गर्न नपाएपनि यसपटक भने उनको लागि राष्ट्रिय सभाको ढोका खुलिसकेको छ । यही माघ ९ गते भएको निर्वाचनमा उनी पाँच नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । यससँगै उनको लामो राजनीतिको यात्रामा ६ वर्षे संसद यात्रा सुरु हुदै छ ।
राजनीतिमा सक्रिय भएको ५० वर्ष पछि नेता गोपाल भट्टरार्ई सार्वजनिक पदमा पुग्न लागेका हुन् । एक हिसाबले युवा अवस्थामा गरेको संघर्षको केही प्रतिफल बुढेसकालमा आएर बल्ल मिलेको छ उनलाई । उनले पार्टीलाई सक्दो योगदान गरे, तर लाभको आश गरेनन् ।
यस अवधिमा उनलाई पदमा पुगिएन भन्ने गुनासो पनि थिएन । पद पाउनकै लागि मरिहत्ते पनि गरेनन् । ‘त्यसबेला राजनीतिमा लाग्दा भोलि पदिय हिसाबले अघि बढ्छौ भन्ने हामीले सोंचेनौं ।’–उनले भन–‘मुलुकबाट निरंकुश पञ्चायती व्यवस्था हटेपछि सामाजिक तथा राजनीतिक परिवर्तन र आर्थिक समृद्धि हुन्छ अनि यसबाट हामी सबै नेपालीको उद्धार हुन्छ भन्ने नै सोच्यौं ।’
मुुलुकमा बहुदलीय व्यवस्था आएपछि पनि पद भन्दा पार्टीलाई ठूलो ठानेको उनको भनाइ छ । ‘प्रतिस्पर्धामा जाँदा पार्टीले जे निर्णय गर्छ सहज रुपमा स्वीकार्दै गएँ’–भट्टराईले भने–‘नयाँ पुस्ताले पदमा अलि बढी इच्छा आकांक्षा गर्नु स्वभाविक हो । त्यसलाई मनन गरेँ ।’ तर पाँच दशक भन्दा बढी कम्युनिष्ट राजनीतिमा उनी कटिबद्ध भएर लागे ।
..............
विद्यालयमा पढ्न भनेरै भट्टरार्ई स्याङ्जाबाट तराई झरेका थिए । मणिग्रामको शान्ति नमूना विद्यालयमा पढ्थे । कम्युनिष्टका नेता देवेन्द्र घिमिरे पनि सोही विद्यालयमा थिए ।
२०२० साल तिरको कुरा हो । घिमिरेले शान्ति नमुनामा विद्यार्थी हकहितका माग राखेर आन्दोलन गरेका थिए । त्यस क्रममा देवेन्द्र घिमिरेलाई विद्यालयले निस्काशन ग¥यो । ‘विद्यार्थीको हकहितको लागि लड्ने यस्तो राम्रो मान्छेलाई किन निस्काशन गरेको होला भनेर मलाई जिज्ञासा लाग्यो ।’–उनले भने–‘उहाँलाई रेष्टिकेट गरेपछि पनि आन्दोलन रोकिएन । हामी पनि त्यसमा सहभागी भयौं ।’
विद्यालयमा भएको अनियमितता विरुद्ध र विद्यार्थीले यातायात सुविधा पाउनुपर्ने भनेर आफूहरुले आवाज उठाएको भट्टराईले सुनाए । विद्यार्थी आन्दोलनमा प्रहरी हस्तक्षेप हुँदा गोपाल भट्टरार्ई घाइते पनि भए । त्यतिबेला उनलाई राजनीतिक ज्ञान र चेतना भने थिएन । त्यो घटनापछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले भट्टरार्ईलाई आवद्धताको लागि प्रस्ताव ग¥यो । २०२४ सालमा उनले पुष्पलाल नेतृत्वको कम्युनिष्ट पार्टीमा आवद्ध हुन आवेदन दिए ।
२०२६ साल तिर गोपाल भट्टरार्ई एसएलसीको तयारीको लागि भैरहवामा बसेका थिए । त्यसबेला जिल्लाभरको परिक्षा केन्द्र भैरहवामा थियो । सरकारले देशभरका १८ वटा कलेज खारेज गर्ने निर्णय ग¥यो । उक्त निर्णय विरुद्ध विद्यार्थी आन्दोलन चर्कियो । यस क्षेत्रमा जिवराज आश्रितको अगुवाइमा आन्दोलन सुरु भएको थियो । आन्दोलनमा गोपाल भट्टरार्ईले पनि सहभागिता जनाए ।
‘त्यस आन्दोलनमा हामी धेरै जना घाइते भयौं । प्रहरी हिरासतमा पनि बस्यौं ।’–उनले सम्झे–‘जीवराज आश्रित त्यो घटनाबाट समातिएर जेलमै पर्नुभयो ।’ त्यो आन्दोलनको विरुद्ध तत्कालिन अञ्चलाधीशले राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल भन्ने विद्यार्थी संगठन गठन गरे । जसलाई मण्डले भनिन्थ्यो । शान्ति नमूना र भैरहवाको त्यो विद्यार्थी आन्दोललाई गोपाल भट्टरार्ई आफ्नो राजनीतिको महत्वपूर्ण मोड मान्छन् ।
२०२६ सालमा उनले एसएलसी दिए । एसएलसी पछि पनि आफ्ना राजनीति सक्रियता बढाए । ४ वर्ष अघि नै आवेदन दिएपनि २०२८ सालमा भट्टराईले कम्युनिष्ट पार्टीको सदस्यता हात पारे, अनि पूर्णकालीन सदस्य भएर लागे ।
सदस्यता प्राप्त गरेपछि भट्टरार्ईलाई रुपन्देहीको पूर्वी भेगमा खटाइयो । त्यहाँ आफ्नो गतिविधि अगाडि बढाए । ‘केरवानी भन्ने ठाउँमा एक जना जमिनदार हुनुहुन्थ्यो । चार पाँच हजार विघा जमिन, अनि सयौं हरुवाहरु भएका ।’–उनी ती दिन सम्झिन्छन्–‘तिनीहरुलाई जम्मा गरेर हरुवा हडताल गरियो ।’
त्यस पछि गोपाल भट्टरार्ईलाई पक्राउ गर्न सरकारले वारेन्ट जारी ग¥यो । वारेन्ट जारी भएपछि उनलाई पार्टीले परासी क्षेत्रमा खटायो । एक डेढ वर्ष परासी बसेर उनी रुपन्देही फर्के ।
पञ्चायत कालको प्रतिबन्धित अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय भारतको बनारसमा थियो । जहाँ कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल बस्थे । पश्चिमाञ्चल कार्यालय भने गोरखपुरमा थियो । गोपाल भट्टराईले यी दुवै ठाउँमा रुपन्देहीबाट पार्टीका दस्तावेज तथा चिठीपत्र ल्याउने लैजाने गर्दथे । ‘एक डेढ वर्ष जति मैले त्यही काम गरें । यहाँको पार्टीको रिर्पोर्टिङहरु त्यहाँ पु¥याउने’–उनले भने–‘त्यहाँबाट सम्प्रेषण गर्नुपर्ने पत्र, दस्तावेजहरु यता लिएर आउने गर्थे ।’
बनारसबाट रुपन्देही मात्र होइन पुष्पलालको पत्र बोकेर निरञ्जन गोविन्द वैद्यलाई (कम्युनिष्ट पार्टीका अर्का संस्थापक) पु¥याउन काठमाडौ पनि पुगेको गोपाल भट्टराईले सम्झिए–‘बनारसबाट यहाँ आएपछि पूर्वतर्फ जान मोटर गाडी चल्दैन थिए । यहाँबाट हेटौडासम्म हिंडेरै पुगें । त्यहाँबाट त्रिभुवन राजपथको बाटो ट्रकमा गएको थिएँ । बनारस जाँदा आउँदा पुष्पलालसँग सम्बन्ध थप विस्तार भयो ।’
भट्टरार्ईसँग पुष्पलालको व्यक्तिगत, अनि पारिवारिक कुरा पनि हुन्थ्यो । ‘उहाँलाई देख्दा असाध्यै सरल लाग्यो, अनि मनोवैज्ञानिक अध्ययन गर्ने खालको हुनुहुन्थ्यो ।’–उनले भने ।
कम्युनिष्ट पार्टीमा विभाजन हुने क्रम चलिरहेको थियो । गोपाल भट्टरार्ई पनि पुष्पलाललाई छोडेर जीवराज आश्रितसँग मुक्तिमोर्चामा संगठित भए । मुक्तिमोर्चा र पूर्वमा सिपी मैनालीले नेतृत्व गरेको कोअर्डिनेसन केन्द्र (कोके) बीच एकता भएपछि २०३५ सालमा नेकपा माले बन्यो । त्यसपछि भट्टरार्ई मालेमा सक्रिय भए ।
राजनीतिक यात्राका दौरानमा १२–१३ वर्ष जति पार्टीको स्थानीय कमिटी, अनि २३–२४ वर्ष जिल्ला कमिटीमा रहेर काम गरे । त्यसयता अञ्चल र प्रदेश कमिटीमा छन् । जिल्ला र अञ्चल कमिटीमा रहँदा भट्टराईले लामो समय कार्यालय सचिवको भूमिका पनि निर्वाह गरे ।
‘पार्टीको कार्यालय भनेको आधा संगठन हो । संगठनका योजनाहरु त्यही बन्ने र कार्यान्वयन हुने भएकाले कार्यालय सञ्चालन महत्वपूर्ण हो ।’–उनले भने ।
एमाले र माओवादीबीच पार्टी एकता भएपछि नेकपाको जिल्ला अध्यक्षको रुपमा भट्टराईको पनि चर्चा भयो । तर पछि पार्टीले छुट्टै मापडण्ड बनाएकाले उनी प्रदेश कमिटीमै रहे ।
नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभाको उमेदवारहरुको टुंगो लगाएपछि भट्टराईलाई महासचिव विष्णु पौडेलको फोन आयो । ‘मनोनयनको तयारी गर्नुहोस् भन्नुभयो’–उनले भने ।
उमेदवार बनेपछि जित निश्चित थियो । दाङमा भएको मतदानबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । ‘विगतमा पार्र्टीले दिएका जिम्मेवारीहरु जसरी पूरा गरें, त्यसरी यो अब संसदमा पनि जिम्मेवारी बहन गर्छु । निति निर्माण र जनचासोको विषयमा प्रभावकारी तरिकाले कुराहरु राख्ने प्रयास गर्छु’–भट्टराईले भने ।