काठमाडाैँ- प्रतिनिधिसभा विघटनका विरुद्ध परेको रिटमा आजबाट एमिकस क्युरीले आफ्नो राय दिनेछन्। विघटनको मुद्दामा पक्ष र विपक्षको बहस सकिएपछि आजबाट एमिकस क्युरीको बहस सुरु हुन लागेको हो। कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्च अदालतले एमिकस क्युरी गठन गर्ने गर्दछ।
एमिकस क्युरीलाई सर्वोच्च अदालतको सहयोगी मानिन्छ। एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन्। एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्। रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस हुँदै आएको छ।