भैरहवा– नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट नांगिएको र कम्युनिष्टका रुने दिन शुरु भएको बताएका छन् । ‘यतिन्जेल केपी ओली सरकार र कम्युनिष्टले जनतालाई रुवाए, उनले भने–अब जनताका रुने दिन सकिए, अब कम्युनिष्ट र केपी ओलीका रुने दिन शुरु भएका छन् ।’
भैरहवामा कांग्रेसले आयोजना गरेको विरोध सभामा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सुरक्षा विधेयक, मिडिया विधेयकजस्ता विवादास्पद विधेयकहरु ल्याएर मुलुकलाई आफ्नो तजबीजमा चलाउने प्रयास गरेको बताए ।
‘यस्ता धेरै विधेयकहरु ल्याएर र संवैधानिक परिषदलाई समेत आफुअनुकुल चलाउने गरी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओलीले संविधानको प्रतिकुल काम गर्नुभएको छ, यो अधिनायकवादको यात्रा हो, असंवैधानिक कदम हो ।’
उनले नेपालमा ओलीले कम्युनिष्ट अधिनायकवाद ल्याउने प्रयास गरेको भन्दै त्यसको भण्डाफोर गर्ने बताए । ‘राणा, पञ्चायतकालमा जनतालाई मालिक मानिएन, जनताका कुरा सुनिएन, राजतन्त्रकालमा विधिको शासनविरुद्ध कदम चालियो, प्रजातन्त्र खोस्ने प्रयास भयो, जनता सिद्धिएनन्, राजा खोसिए, उनले भने–अहिले ओलीले प्रजातन्त्र, लोकतन्त्र खोस्ने प्रयास गरेका छन्, यसमा पनि जनताले जित्नेछन्, संविधान खोसिनेछैन, लोकतन्त्र खोसिनेछैन, ओली खोसिनेछन्, ओलीतन्त्र समाप्त हुनेछ ।’
उनले ओलीलाई एकदिनपनि सरकारमा बस्ने अधिकार नरहेको भन्दै आफ्ना झिटीगुन्टा तयार पार्न आग्रह गरे । ‘जनता ओलीलाई अरु धेरै दिन सरकारमा देख्न चाहेका छैनन्, उनले भने–म भन्न चाहन्छु ओलीजी अब तपाइँ झिटीगुन्टा तयार राख्नुस्, तपाइँलाई यसरी बालुवाटारमा बस्ने अधिकार छैन ।’
नेताहरु भरतकुमार शाह, अब्दुल रज्जाक, प्रमोद यादव, रमा अर्याल, रामकृष्ण खाँण, मुक्ति पौडेललगायतले बोल्दै प्रधानमन्त्रीको असंवैधानिक कदमको खुलेर विरोध गर्न र गाउँटोलसम्म भण्डाफोर गर्न कार्यकर्ताहरुलाई आह्वान गरे ।