काठमाडाैँ- अदालतको अवहेलना मुद्दा लागेका चार जना पूर्वप्रधानन्यायाधीशहरुले आज सर्वाेच्च अदालत पुगेर लिखित जवाफ बुझाएका छन्। पूर्वप्रधानन्यायाधीशहरु सुशीला कार्की, मीनबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठ अदालतको अवहेलना मुद्दामा सर्वोच्चमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन्।
शर्माले छुट्टै र बाँकी तीन पूर्वप्रधानन्यायाधीशले संयुक्त रूपमा लिखित जवाफ पेस गरेका छन्। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो।
अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईले अवहेलना मुद्दा दायर गरेका थिए। त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै माघ १५ गते न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। उनीहरुबाहेक प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो।