बुटवल-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई केही स्वार्थी षड्यन्त्रकारीहरू चोइटिएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले ओली समूह नै आधिकारिक नेकपा भएको दाबी गरे ।
‘कतिपय मानिसहरूलाई नेकपा फुट्यो भन्ने लागेको छ । तर धनगढीदेखि शुरू भएको जनसभा बुटवलमा हुँदैछ, विराटनगर, सुर्खेत, पोखरामा हुनेछ, यी जनसभाले के पुष्टि गर्दैछ भने नेकपा फुटेको होइन, फुट्ने छैन,’ उनले भने, ‘केही स्वार्थी, षड्यन्त्रकारी, विभाजनकारी तत्वहरू चोइटिएका हुन्, नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन, नेपाली जनताले फुट्न दिँदैनन् । कमरेड केपी शर्मा ओली नेतृत्वको नेकपामा जनमत रहेको छ ।’
प्रधानमन्त्री ओलीको नेतृत्वमा नै संविधान बनेको उनले स्मरण गरे । ‘हामीले निर्माण गरेको संविधान हरेक दृष्टिले लोकतान्त्रिक छ । यो संविधान निर्माणको काम र अगुवाइ कमरेड केपी ओलीले गर्नुभएको थियो । पहिलो संविधान सभामा सबैभन्दा ठूलो दल भएर पनि प्रचण्डजीले संविधान निर्माणको अगुवाइ गर्न सक्नुभएन । अकालमै संविधानसभा अवसान भयो,’ उनले भने, ‘दोस्रोपटक निर्वाचन गरेर संविधान निर्माणको अगुवाइ केपी ओलीले गर्नुभएको थियो । संविधान बनेलगत्तै भूकम्पले थिलोथिलो भएको देशमा नाकाबन्दीको सामना गर्नुपर्यो । अनि कमरेड केपी ओली प्रधानमन्त्री भएर राष्ट्र, सर्वभौमसत्ताको रक्षा गर्दै देशको नेतृत्व गर्नुभयो ।’