बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपाका ओली समुहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गतेको बुटवलको सभा ऐतिहासिक हुने बताएका छन्। उनले सभामा २ लाख मानिस उपस्थित हुने दाबी गरे।
सभाको बारेमा जानकारी दिन विहिवार बुटवलमा आयोजित कार्यक्रममा पोखरेलले भने ‘जनताको समर्थन र जनताको अपेक्षा के छ भन्ने बारे बुटवलको माध्यमबाट राष्ट्रलाई सुनाउन चाहान्छौं, देखाउन चाहान्छौ’ उनले भने ‘जनपरिचालन कस्तो हुन्छ। जनपरिचालन कस्तो हुँदो रहेछ त्यो पनि बुटवलमा देखिन्छ।’ बुटवलको सिद्देश्वर मैदानमा हुने सभामा रुपन्देहीका एक लाख र रुपन्देही बाहेकका अरु जिल्लाबाट एकलाख जनता उतार्ने पोखरेलले जानकारी दिए।
पोखरेलले प्रधानमन्त्रीलाई कम्जोर पार्ने षडयन्त्र गरेकाले जनतामा जान परेको बताए। उनले प्रतिनिधि सभा विघटन विवादको विषय नभई विबादको परिणाम भएको उल्लेख गरे।‘प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो।’ पोखरेलले भने ‘ प्रतिनिधि सभा विघटन परिस्थीतिको बाध्यताको रुपमा रहयो।’ उनले अहिलेको राजनीतिक संकटलाई चुनावबाट हल गर्ने बताए।