काठमाडौं-नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवास शंखमुलमा पुगेको प्रहरीले पक्राउ पूर्जी दिएको छ ।
निवास बाहिर रहेको प्रहरी केहीबेरअघि घरभित्र प्रवेश गरेर झाँक्रीसँग छलफल गरिरहेको छ । घरबाहिर भने झाँक्रीका समर्थक ठूलो संख्यामा उपस्थित भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले राजतन्त्रकै कालमा जसरी निरंकुशता र शक्तिको दुरुपयोग भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई पक्राउ पुर्जी दिइएको नेकपा नेतृ आरती लामाले जानकारी दिइन्।
झाँक्रीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै तानाशाहको ढल्ने बेलामा प्वाँख आएकोरुपमा आफूले लिएको बताइन् ।
“राष्ट्रपतिको निर्वाचनक्षेत्रसँग जोडिएको विषय अस्मितासँग कसरी जोडिन्छ ?” झाँक्रीले भनिन्, “राजनीतिक मुद्दा भएको हुँदा पुर्जीसहित आउनुपर्छ । अन्यथा आउनुस् भनेर जाने कुरा भएन । तपाईँसँग सोधपुछ गर्नुछ आउनुस् भनेर प्रहरी कार्यालयबाट फोन आएको थियो, मैले यो राजनीतिक मुद्दा भएकाले पुर्जीसहित आउनुपर्छ भनेकी छु ।”
उनले लोकतन्त्रमा सबै जवाफदेही हुनुपर्ने बताइन् । “तानाशाहहरुको ढल्ने बेलामा प्वाँख आउछ । हामी प्रतिगमनका विरुद्धमा सडकबाटै लडेका छौँ,” उनले भनिन् ।