काठमाडौं-नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास शंखमुल पुगेको छ।
प्रहरी उनको निवास पुगेपछि उनलाई पक्राउ गर्न पुगेको प्रहरीलाई उनका समर्थकले रोकेका छन्। अहिले उनको निवासबाहिर प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी भइरहेको छ।
यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए।
तर प्रहरीको टोली नै उनको निवास पुगेपछि उनका समर्थक आक्रोशित भएका छन्। यहीबीचमा झाक्रीले पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक व्यवस्था नै खोसिएको महसुस भएको बताएकी छिन् । अभिव्यक्तिकै आधारमा पक्राउ गर्न निवासमै आउनुले व्यवस्था नै खोसिएको महसुस भएको र गणतन्त्रले ल्याएको व्यवस्थामा शक्तिको दुरुपयोग गर्ने प्रयास भएको उनको भनाई ।
यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।
उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।
मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो।
'मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।
झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।
झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।
बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्।
मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ।