बुटवल - नेपाल कम्युनिष्ट पार्टी नेकपाको रुपन्देही जिल्ला अध्यक्षमा राजु गुरुङ चयन भएको भन्दै सोमबार दिउसोबाट सामाजिक सञ्जालहरुमा बधाई व्यक्त भइरहेका छन्। यस अघिका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई हटाएर प्रचण्ड–माधव समुहले राजु गुरुङलाई नेकपाको जिल्ला अध्यक्ष बनाएको चर्चा चलेको छ। सुवेदीलाई यस अघि नेकपाको ओली समुहले जिल्ला संयोजक बनाएको छ।
त्यसै गरी नेकपा कपिलबस्तुको जिल्ला अध्यक्षमा विष्णु पन्थी, गुल्मीको जिल्ला अध्यक्षमा सोमनाथ सापकोटालाई चयन भएको सामाजिक सञ्जालमा चर्चा छ। तर यस सम्बन्धमा पार्टीको प्रचण्ड–माधव समुहबाट कुनै निर्णय भने सार्वजनिक भइसकेको छैन।
प्रचण्ड-माधव समुहका जिल्ला तथा प्रदेश तहका नेताहरुले त्यस सम्बन्धमा माथिबाट कुनै सर्कुलर नआएका बताएका छन्। नेकपाका जिल्ला सचिव निर्मल जिसीले निर्णयका सम्बन्धमा माथिबाट अझै कुनै सर्कुलर नआएको बताए। कपिलबस्तुका जिल्ला अध्यक्ष तोकिएका विष्णु पन्थीले पनि अझै केही जानकारी नआएको बताए।
नेकपाका केन्द्रीय सदस्य तथा प्रचण्ड-माधव समुहका नेता ठाकुर गैरेले रुपन्देही, कपिलबस्तु र गुल्मीकाे जिल्ला अध्यक्ष तोकिएको र थप कुरा युवराज ज्ञवालीसँग बुझ्न आग्रह गरे।
नेकपा प्रचण्ड-माधव समुहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले ३ जना अध्यक्ष तोकिएको बारे कुरा अघि बढेको तर निर्णय हुन बाँकी रहेको जानकारी दिए। ‘त्यसको अझै फाइनल भएको छैन। नाम दुइजना अध्यक्ष (प्रचण्ड र माधव नेपाल) लाई पठाइएको छ। उहाँहरुबाट टुंगो नलगाइकन निर्णय भएको मानिदैन।’ उनले भने‘उहाँहरुको नाममै टुंगो लाग्ला, अझै प्रक्रियामै छ।’
प्रक्रिया अझै नटुंगीसकेको भएनपनि चर्चामा आएका तीन जनाकै नाममा टुंगो लाग्ने सम्भावना रहेको छ । राजु गुरुङ तत्कालिन एमाले निकट युवासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन्, बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववीयु सभापति पनि हुन्। केही दिन अघि आयोजित पत्रकार सम्मेलनमा उनले आगामी चुनाबमा विष्णु पौडेल विरुद्ध उमेद्वारी दिने बताएका थिए।
कपिलबस्तु जिल्ला अध्यक्षको रुपमा चर्चामा आएका विष्णु पन्थी अहिले प्रदेश सभा सांसद छन्। सोमनाथ सापकोटा अहिले मुसिकोट नगरपालिकाको नगरप्रमुख छन्। उनी पार्टी एकता अघि तत्कालिन नेकपा एमालेका जिल्ला सचिव हुन्।