काठमाडाैँ- सरकारले लुम्बिनी प्रदेशमा पहिलो चरण अर्थात वैशाख १७ गते नै चुनाव गराउने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी प्रदेश सहित प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वैशाख १७ गते चुनाव गराउने निर्णय गरेको हो ।
त्यसै गरी बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन गराउने निर्णय गरिएको छ। जस अनुसार पहिलो चरणमा निर्वाचन हुनेमा ४० जिल्ला र दोस्रो चरणमा निर्वाचन हुने ३७ जिल्ला भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ चरणमा चुनाव गराउने निर्णयबारे मंगलबार निर्वाचन आयोग पुगेर जानकारी गराउन लागेका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा भएको थियो।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड माधव पक्षले अलग समुह बनाएर चरणबद्ध आन्दोलन गरिरहेको छ। प्रतिपक्षी कांग्रेस, जनता समाजबादी पार्टी, नागरिक समाजले पनि संसद विघटनको विरोध गरेका छन्।