बुटवल- प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार देशभर प्रदर्शन गर्दैछन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गर्ने भएका हुन्।
जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन हुँदै छ। प्रदर्शनमा जिल्लामा क्रियाशिल सबै शुभेच्छुक संस्थाहरुको सहभागीता रहने नेपाल प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसालले जानकारी दिइन्।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । जस अनुसार माघ १९ गते भातृसंगठनहरुले देशभर प्रदर्शन गरेका थिए। काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ ।