काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफू एमसिसीको पक्षमा नभएको स्पष्ट पारेका छन्। विहिवार भएको आम हडतालमा एमसिसीको विरोधमा कार्यकर्ताले नारा लगाएपछि प्रचण्डले नारा नलगाउन भनेका थिए।
शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले संवैधानिक नियुक्तीको विरोधमा गरिएको आन्दोलनमा एमसिसी विरोधी नारा नलगाउन भनेको बताए। ‘यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो,’ प्रचण्डले भने, ‘यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन।’
उनले ओलीले प्रतिनिधि सभा भंग गर्दै राज्यसत्तालाई क्याप्चर गर्न खोजेको भन्दै पछिल्लो पटक भूमि आयोग र संवैधानिक आयोगहरुमा नियुक्तिहरु गरेर लगातार संविधानमाथि आक्रमण गरेको बताए ।