बुटवल । बुटवलमा बन्दको कडा प्रभाव परेको छ । प्रचण्ड–नेपाल समूह नेकपाको आह्वानमा देशैभर आयोजना गरिएको आम हड्तालको असर बुटवलका मूख्य सडकमा धेरै परेको छ ।
बन्द प्रभावकारी बनाउन प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरूले मूख्य–मूख्य चोकमा ठूलो संख्यामा गाडिहरुलाई रोकेर राखेका छन् । यद्यपि, एम्बुलेन्स, परिक्षार्थी बोकेका सवारी, दुध बोक्ने गाडी तथा बिरामीहरु बोकेका सवारीहरू रोकिएका छैनन् ।
बुटवलको राजमार्ग चौराहमा केहीबेर अघि कार्यकर्ताले टायर बालेका थिए । त्यहाँ पूर्वदेखि आएका एक दर्जनभन्दा धेरे ढुवानी तथा सवारीका गाडीहरु लामबद्ध रोकिएका छन् । यता मिलनचोकमा पनि ठूलो संख्यामा गाडिहरु रोकेर राखिएको छ ।
काँकडभिट्टाबाट आज विहानै आइपुगेपनि त्यहाँबाट हिड्न नदिएकाले बाटो मै रोकिराखेको एक ट्रक चालकले लुम्बिनी टाइम्सलाई बताए ।
त्यस्तै केहीबेर अघि मात्रै सेनाले बख्तरबन्द गाडीहरुलाई बुटवलका सडकमा घुमाएको छ । पूर्वजानकारी विनै बख्तरबन्द गाडीहरु घुमाएपछि राजमार्ग चौराहमा बन्द गराइरहेका कार्यकर्ताहरु अचम्ममा परेका थिए । सेनाले बख्तरबन्द गाडि देखाएर डराउन खोजेको एक बन्दकर्ताले बताए ।
बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो । यसबारे भने आन्तरिक जानकारी आफूहरुलाई भएको नेपाल प्रहरीका एक जवानले लुम्बिनी टाइम्सलाई बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने–‘आन्तरिक सर्कुलेसन भएको थियो ।’
आर्मीले यसबारेमा केही बोलेको छैन ।
मुख्य राजमार्ग बाहेक बुटवलका भित्रि सडकहरुका पसल व्यवसाय भने आँशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरुलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन ।