काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आम हड्तालमा निर्धक्करुपमा यातायातलगायत उद्योगधन्दा, पेशा व्यवसाय सञ्चालन गर्न भनेको छ ।
दहाल–नेपाल समूहले हड्तालको आह्वान गरेपछि गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिहीबार आम हड्तालको अवज्ञा गर्न आग्रह गरेको हो ।
‘दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने हुँदा यातायात व्यवसायी लगायत सबै उद्यमी व्यवसायीहरुलाई निर्धक्क एवं पूर्ववत् रुपमा आआफ्नो उद्योगधन्दा पेशा व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै शान्ति सुरक्षामा खलल पुग्ने गरी अवाञ्चछित गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने गृहको चेतावनी छ।
गृह मन्त्रालयले भनेको छ, ‘शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जवरजस्ती लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’