बुटवल- नेपाल कम्युनिष्ट पार्टी नेकपा रुपन्देहीकाे जिल्ला अधिवेसनको लागि अधिवेसन आयोजक कमिटी गठन भएको छ। सोमबार पार्टीको केपी ओलि पक्ष मात्र सहभागी पाँचौ पूर्ण बैठकले एकताको जिल्ला अधिवेसनको लागि एक हजार एक सय ९९ सदस्यीय आयोजक कमिटी गठन गरेको हो ।
साविकका नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकता भएपछि बनेको नेकपाको जिल्लाको एकता अधिवेशनका लागि एक हजार एक सय ९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको साे समुहले बताएकाे छ।
तर प्रतिनिधि सभा विघटन भएपछि नेकपा फेरी विभाजित अवस्थामा छ। नेकपा ओली पक्ष र प्रचण्ड-माधव पक्ष अलग - अगग समुहको रुपमा क्रियाशिल छन्। तर निर्वाचन आयाेगबाट पार्टी विभाजनको मान्यता भने पाइसकेको छैन ।
नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको ओली पक्षको जिल्ला कमिटीको पाँचौं पूर्ण बैठक पछि पार्टीका जिल्ला आयोजक कमिटिका सदस्यहरुलाइ सपथ ग्रहण गराइएकाे छ। पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका सह–इन्चार्ज बैजनाथ चौधरीले अरु केन्द्रीय नेताहरुको उपस्थितिमा सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहण समारोहमा नेकपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष एवम् लुम्बिनी प्रदेश सरकारका मन्त्री लिला गिरी, नेकपा केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इन्चार्ज एवम् लुम्बिनी प्रदेश सभाका समितिका सभापति दधिराम न्यौपाने, नेकपा केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इन्चार्ज एवम् जिल्ला समन्वय समितिका अध्यक्ष एकराज विश्वकर्मालगायतले सम्बोधन गरेका थिए।
नेताहरुले समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय संकल्प गर्दै केपी ओली नेतृत्वको संघीय सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको उल्लेख गर्दै तीनै तहमा भएका कामहरुको सूचि लिएर जनतामा जान अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल तर्फ लक्षित गर्दै नेताहरुले मूलधारको पार्टीका अध्यक्ष केपी ओली नै भएकाले कुनै अप्राकृत्तिक कसरत र भ्रामक तिगडमबाजी नगर्न आग्रह गरेका थिए। उनीहरुले नेकपाको आधिकारिता र पार्टीको चुनाव चिन्ह सूर्य केपी ओलीकै नेतृत्वमा रहेको पार्टीमा रहने उल्लेख गर्दै कुनैपनि भ्रमको पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
जिल्ला अधिवेशन आयोजक कमिटीले छिट्टै अधिवेशनको मिति तय गर्ने, जिम्मेवारी बाँडफाँड गर्ने र १६ वटै पालिकाका सबै तहका कमिटीका भेलाहरु गर्नेलगायतका निर्णय गरेको ओली पक्षिय नेकपा रुपन्देहीका सचिव विश्वराज बरालले जानकारी दिए। अधिवेशन अयोजक कमिटीको गठन संगै एकैसाथ जिल्लाका सबै तहका कमिटी, जनवर्गीय संगठन र संयन्त्रका भेला, बैठक, योजना निर्माणलगायतका कामलाई अगाडि बढाउने निर्णय भएको उनले बताए ।
फागुन १ मा बुटवल बहुमुखी क्याम्पस प्रांगणमा जनसभा गर्ने निर्णय समेत भएको नेकपा रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिए ।