काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
बैठक बोलाएको छैन: ओली पक्ष
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने बताएको छ।
नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मााधवकुमार नेपाल समूहले सोमबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको जनाइएको छ।