बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारबाट हस्तान्तरण भएका अनुदान तथा कार्यक्रमहरुलाई स्थानीय सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
प्रदेश समन्वय परिषद्को चौंथो बैठकलाई सम्बोेधन गर्दै मुख्यमन्त्री पोखरेलले शसर्त र विशेष अनुदान तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिषद् बैठकले ठोस निर्णय लिनु पर्ने बताए । देशका अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश स्थानीय सरकारसँगको साझेदारीमा अघि भएको दावी उनको थियो ।
कार्यक्रममा उनले विगत ३ वर्षका कामको मुल्याकन र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिए । परिषद सदस्यले पुरै प्रदेशको विकासका सवालमा चिन्तन गर्नु पर्ने धारणा राखेका थिए ।
सचिव डा. खगेन्द्र प्रसाद सुवेदीले स्थानिय तह र प्रदेशको विकासका सवालमा महत्वपूर्ण मानिने परिषद् बैठकले आवधिक योजना छनोटमा महत्वपूर्ण टेवा पुग्ने धारणा राखे । सचिव सुवेदीले सह–लगानी सम्बन्धमा छलफल गरी प्रदेशमा रोजगारी अभिवृद्धि र राजस्व असुलिलाई थप प्रभावकारी बनाउन जरुरी रहेको औंल्याए । परिषद् बैठकमा मधुकृष्ण पन्थ, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी र मुख्यमन्त्री कार्यालयका तर्फवाट अलग–अलग प्रस्तुती गरिएको थियो ।