बुटवल- सरकारले घोषणा गरेको बैशाख १७ र २७ गते हुने निर्वाचनको लागि रुपन्देहीमा १२ वटा मतदानकेन्द्र थपिने भएको छ। मतदान स्थल तथा मतदान केन्द्र पुनरावलाेकन समिति रुपन्देहीको बैठकले १२ वटा मतदान केन्द्र थप गर्ने निर्णय गरेको हो। साविकको निर्वाचनमा रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा ५ सय ९८ मतदान केन्द्र रहेका थिए। अहिले मतदान केन्द्र थप भएर ६ सय १० पु¥याइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए।
मतदान स्थलको संख्या भने २ सय ८ नै रहेको छ। तर केही मतदान स्थल भने हेरफेर गरिएको उनले जानकारी दिए। जस अनुसार बुटवल उपमहानगरपालिकाको वडा नम्बर ६ र ९, मायादेवी गाउँपालिका– ५, कोटयीमाइ गाउँपालिका–६ र गैडहवा गाउँपालिका–३ मा मतदान स्थल परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पुस २९ गते बसेको मतदान स्थल तथा मतदानकेन्द्र पुनरावलोकन समितिको बैठकमा पालिकाप्रमुखहरुलाई मतदान केन्द्रको हेरफेरको सम्बन्धमा राय सुझाब दिन भनिएको थियो। सुझाबहरुलाई समेटेर मतदान स्थल र केन्द्रहरु तोकिएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले बताए।
मतदाता नामावली अद्यावधिक सुरु
मतदाता नामावली अद्यावधिकको काम पनि सुरु भएको छ। जिल्लाका सबै पालिकामा १५ गते मतदाता नामावली प्रकाशन भएको छ। आज १६ गतेबाट २४ गतेसम्म अद्यावधिककाे काम हुने छ। यसबीचमा नामावलीमा भएकाे त्रुटी सच्याउने, कसैले झुटा विवरण दिएको भए उजुरी लिने, त्यस उपर छानविन गर्ने, मृत्यू भएको वा नागरिकता त्यागेकाको नाम सुचिबाट हटाउने लगायतका काम हुनेछ। माघ २४ गतेसम्म अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यसपछी निर्वाचन आयाेगले अन्तिम नामावली सार्वजनिक गर्ने छ।