बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरुद्ध बुटवलमा आयोजना गरिएको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षीय नेकपाका अध्यक्ष माधव कुमार नेपालले ओलीको निरंकुश प्रवृत्तीलाई इतिहासले ‘हुत्याइदिने’ बताएका छन् ।
आज बुटवलमा बोल्दै उनले भने–‘ओलीमा निरंकुश प्रवृत्ती हावी छ । तानाशाही प्रवृत्ती हावी छ । त्यस्ता प्रवृत्ती भएका व्यक्ति सम्मानका पात्र हुनै सक्दैनन् । त्यस्ता प्रवृत्तीलाई अव इतिहासले हुत्याएर फाल्ने समय सरु भएको छ ।’
नेता नेपालले प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र चाहाना नबुझेका कारण समयको प्रवाहसँग हिड्न नसकेको पनि आरोप लगाएका छन् । ओलीप्रति लक्षित गर्दै उनले भने–‘उहाँले नेपाली जनताको भावना बुझ्नु भएको छैन । नेपाली जनताको चाहाना बुझ्नु भएको छैन । समयको प्रवाह बुझ्न सक्नुभएको छैन । समयको गति बुझ्न सक्नुभएको छैन । उहाँ समयको पछिपछि लतारिने मान्छे हो । समयलाई अगुवाई गर्न सक्ने त्यो खुवी, क्षमता केपी ओलीमा छैन । यो सबैकुरा हामीले अनुभवबाट प्राप्त गरेका छौं ।’
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कुनैपनि न्यायपूर्ण आन्दोलनको अगुवाई नगरेको दावी गर्दै ‘बरु अरुको कुरा काट्ने बानी’ रहेको बताए । ‘केपी ओलीले कुनै आन्दोलनको अगुवाई गर्नुभएको छैन । न्यायपूर्ण आन्दोलनको अगुवाई गर्नुभएको छैन ।’ उनले भने–‘जहिलेपनि पछाडी बसेर कुरो काट्ने उहाँको बानी छ । जहिले पनि उहाँ पछाडि बसेर अरुको बद्ख्वाईँ गर्ने बानी छ ।’
उनले अघि थपे–‘त्यसैले उहाँ भन्नुहुन्छ मेरो खुट्टा तान्यो । हामीले त हात समातेर अगाडि बढाउँन चाहन्छौं, उहाँ थुचुक्क बस्नुहुन्छ, अगाडि बढ्नै चाहनुहुन्न ।’
यसअघि नेपालले ‘गणतन्त्र आउँदैन’ भन्ने केपी ओलीको भविष्यवाणाी २०६२/६३ को आन्दोलनमा असफल भएजस्तै बैशाखमा हुने भनिएको चनावको भविष्यवाणी पनि असफल नै हुने दाबी गरे ।
यसमा थप्दै उनले निर्वाचन आयोगको ४ सय ४१ सदस्यीय नेकपामात्रै बैधानिक रहेको भन्ने निर्वाचन आयोगको निर्णयले आफ्नो पक्षको पार्टी नै मुख्य पार्टी बनाएको दावी गरे । उनले केपी ओलीलाई सदस्यतासमेत नरहने गरी निश्काशन गर्न लागिएको समेत बताए । उनले भने–‘निर्वाचन आयोगले ४४१ को बहुमत जहाँ छ त्यो मुल पार्टी हो भनेको छ । त्यसैले हामी नै मुल पार्टी हौं । ओलीालई स्पष्टिकरण सोधेर साधारण सदस्यताबाट पनि निकाल्ने अन्तिम चरणमा पुगेका छौं ।’