बुटवल-नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आज बुटवलमा प्रदर्शन र सभा गर्दैछ । सो सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए।
उनका अनुसार सभाभन्दा अघि लुम्बिनी प्रदेशका अरु जिल्लाबाट आएका पार्टीका नेता कार्यकर्ताले बुटवलमा प्रदर्शन गर्नेछन्। दक्षिणमा राजमार्ग चौराहा, पूर्वमा रामनगर, पश्चिममा जितगढी र उत्तरमा गोलपार्कमा भेला भएर अस्पताल लाईनमा हुने सभामा सहभागी हुने उनले जनाए। प्रदर्शन १२ बजे हुने जनाइएको छ।
सभामा प्रचण्ड र नेपालका साथै नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, ठाकुर गैरेलगायतले सम्बोधन गर्नेछन्।
नेकपामा पार्टीभित्र विवाद सिर्जना भएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात् प्रचण्ड-नेपाल समूहले देशभर प्रदर्शन र विरोध सभाहरु गर्दै आएको छ।