काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् । माघ ६ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । संसद्को सो बैठकको सम्भावित कार्यसूचीमा सभामुख चयनको विषय पनि छ । सत्तारुढ दल नेकपाले सभामुखको विषय टुंगो नलगाउँदा ३ पटक संसद बैठक सूचना टाँसेर स्थगन भइसकेको छ ।
नेकपा स्रोतका अनुसार सभामुखको उमेदवार सापकोटा बन्ने तय भइसकेको छ । संसदको अंकगणित नेकपाको बलियो रहेकाले उसले अघि सार्ने उमेदवारको पल्ला भारी हुने देखिन्छ ।
को हुन् सापकोटा
सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन् ।
साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भए ।
०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् ।
०४८ सालमा संयुक्त जनमोर्चाकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका उनी पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।
सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए ।
प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए । ०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदा सम्म भूमिगत नै थिए ।
सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् ।