बुटवल–नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधि सभा विघटनबारेको मुद्दामा कुनैपनि हल्ला र दबाबको प्रभावमा नपरी संविधानअनुसार फैसला गर्न न्यायाधीशरुलाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुटवलमा गरेको विरोध सभामा बोल्दै नेता थापाले संविधानको रक्षाको जिम्मा सर्वोच्चमाथि गएको भन्दै सडकमा भइरहेको हल्ला र बन्द कोठाभित्रको खासखुसले प्रभाव पार्न नहुने बताए ।
‘हाम्रो सम्पूर्ण विश्वास अदालतमा छ, अदालतमा श्रीमानहरुले भन्नुभएको हामीले सुन्यौं, बाहिर के भइरहेको छ त्यसले हामीलाई प्रभावित गर्दैन, हामी पनि त्यही चाहन्छौं, बाहिर भइरहेको कुराले बेन्चमा बसेको श्रीमानहरुलाई प्रभावित नगरोस्’–उनले भने–हामीलाई कुनै प्रभावित गर्नुछैन, बाहिर भएको हल्लाले पनि प्रभावित नगरोस्, बन्द कोठाभित्र भएको खासखुसले पनि प्रभावित नगरोस्, श्रीमानहरुलाई एउटै कुराले प्रभावित गरोस्, आफ्नो ड्युटीले, संविधानभित्र भएको कुराले प्रभावित गरोस्।’
उनले संविधानको कुनैपनि धारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै संविधानको मर्मलाई बुझेर मात्रै फैसला आएमा संविधान र मुलुकको रक्षा हुने बताए।
‘हामीले नशामा लठ्ठ भएर लेखेको हैन, हाम्रो अनुभवका आधारमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउँदैन भनेर लेखेका छौं’उनले भने।
उनले बहुमतप्राप्त प्रधानमन्त्रीले ससद चलाउदिन भन्न पाउँछ भन्ने तर्क अदालतमा भइरहेकोप्रति इंगित गर्दै भने–‘म अदालतमा सुनिरहेको छु, श्रीमान्हरुले के सोधिराख्नुभएको छ भने बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग ग¥यो, सरकार चलाउँदिन भन्यो भने के गर्ने भनेर सोध्नुभएको छ, मलाई भित्रभित्र हुटहुटी लागेर अदालतमै गएर बहस गर्न पाएको भए के भन्थे भने, बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्छु, सरकार चलाउँदिन भन्यो भने श्रीमान्को प्रश्नमा मेरो उत्तर–बहुमतप्राप्त प्रधानमन्त्रीले संसद भंग गरे घर जाने, घर बस्न मन नलागे वन जाने ।’
उनले प्रजातान्त्रिक मुलुकहरुका संविधान हेरेर, पढेर र आफ्नै मुलुकको अनुभवकै आधारमा संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरेको उल्लेख गरे।
‘बेलायतको संविधान, जर्मनको संविधान, पाकिस्तानको संविधान, भारतको संविधानले के भन्छ भन्ने कुरा पल्टाउनै पर्दैन, हामीले सबै संविधान पढेर, धारा धारा पल्टाएर, अनि हाम्रो संविधानमा धारा ७६ लेखेको हो, हाम्रो संविधानले भनेअनुसार जम्मा एउटा अवस्थामा मात्रै संसद भंग हुन्छ, कमजोर प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्न सकेन, संसदमा बहुमत प्राप्त गर्न सकेन वा त्यो संसदले प्रधानमन्त्री नै बनाउन सकेन’–उनले भने–आज त्यसै पूर्व प्रधानन्यायाधीशहरु, राजनीतिक दलहरु बोलेका हैनन्, आज यो कुरा कसैले पढ्न पर्दैन, जान्न पर्दैन, यो लेखिएको कुरा हो, त्यसकारणले कांग्रेसले भन्यो, यो असंवैधानिक हो, सँगसँगै अनधिकृत पनि हो। संविधानले जे जे नगर भनेको छ त्यो गर्न पाउनुहुन्न, त्यो असंवैधानिक हुन्छ, यहाँको वडाध्यक्षले पनि कानुनले जे जे गर भनेको छ त्यो काम गर्न पाउँदैन। संविधानले जे भनेको छ, त्यो भन्दा बाहेक सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा अनधिकृत हुन्छ।’
उनले संसद विघटन असंवैधानिक मात्रै नभई अनधिकृत र अराजनीतिक भएको बताए। ‘कांग्रेसको जिल्ला सभापतिले बुटवल नगर सभापतिलाई निकाल्नुभयो भने उहाँले विधान मिचेर निकाल्नुभयो, यो विधानविपरीत भयो भन्नुहुन्छ । तर कांग्रेसको सभापतिले आजदेखि तपाइँ नेकपाको अध्यक्ष छैन भनेर निकाल्दिनुभयो भने के भन्छ ? विधानमै छैन, त्यो के भन्ने ? आफ्नो अधिकारमै नभएको कामलाई अनधिकृत भनिन्छ । आफ्नो अख्तियारमै नभएको कामलाई अनधिकृत भनिन्छ । नेपालमा बहुमतप्राप्त प्रधानमन्त्रीले कुनैपनि बहानामा, कुनैपनि नाममा, कुनैपनि कारणमा संसदलाई छुनै पाउन्न। संसदप्रति नजर लगाएर हेर्न पाउन्न’–उनले भने–संसद भंग गर्ने त धेरै परको कुरा हो। यो अनधिकृत कुरा हो। र, यो चरम अराजनीतिक कुरा हो।’
उनले प्रधानमन्त्रीले आफुमाथि समस्या आउनसक्ने सम्भावनालाई हेरेर अर्कै तर्क स्थापित गर्न खोजेको बताए।
‘मिल्दै नमिलेको कुरा भएपछि उहाँले ढाँट्नुभयो, छल्नुभयो, र छल्दैगर्दा उहाँ कहाँ पुग्नुभयो ?–उनले भने–प्रधानमन्त्रीले अदालतमा यो मुद्दा आउँछ भनेर एउटा तर्क स्थापित गर्नुभयो, संसदभित्र मलाई कुनै समस्या थिएन, मसँग ६४ प्रतिशतको साथ थियो, बाँकी ३७ रह्यो । ३७ प्रतिशतबाट सरकार बन्न सक्दैन। मसँग ६४ प्रतिशतको साथ थियो नभनौं अदालतमा मुद्दा कमजोर हुन्छ, साथ थियो भनौं संसद किन भंग गरेको भन्ने प्रश्न आउँछ। त्यसपछि उहाँले के लेख्नुभयो भने मलाई २ तिहाई बहुमत चाहिएकाले यो संसद भंग गरेको हुँ। संविधान संसोधन गर्न मलाई बहुमत चाहिएको हो। नेकपाको कुनै हनुमानले उभिएर मलाई भनिदिओस् त, तपाइँको प्रधानमन्त्रीलाई दुई तिहाई बहुमत दिने, कुन धारा संसोधन गर्ने ? तपाइँले भनिदिनोस्, तपाइँलाई दुईतिहाई बहुमत दियो भने संविधानको कुन चाहिँ धारा संसोधन गर्न खोज्नुभएको छ ? भन्न सक्नुहुन्छ ? भन्न सक्नुहुन्न।’
उनले अगाडि भने–‘मलाई कोभिडमा काम गर्न नदिएकोले मैले संसद भंग गरेँ। खोपकेन्द्र बनाउनुपर्ने ठाउँमा मतदान केन्द्र बनाएर हिड्ने प्रधानमन्त्री। अनि आज के भन्दै हुनुहुन्छ, मलाई कोभिडमा काम गर्न नदिएकाले मलाई दुई तिहाई बहुमत चाहियो, मैले संसद भंग गरिदिएँ। तपाइँ हामी सबैले देखेका छौं, गएको दुई अढाई वर्ष प्रधानमन्त्रीले कसरी काम गर्नुभयो भन्ने कुरा। आज यो तर्कका आधारमा नेपालको संसद भंग भएको कुरा सदर भयो भने अब भोलि कुनै प्रधानमन्त्रीले दुईतिहाई बहुमत प्राप्त गर्यो भनेपनि प्रधानमन्त्रीले सन्किएर के भन्दिनसक्छ भने दुई तिहाई मसँग छ, तर यो सदनमा दुईचारजना भएपनि म भन्दा फरक विचार राख्ने सांसद भएकाले मैले यसलाई भंग गरिदिएँ अब मलाई सतप्रतिशत चाहिन्छ भनेर ऊ चुनाबमा जान पाउने भयो।’
उनले प्रतिनिधि सभा विघटन अनधिकृत र अराजनीतिक भएको बताउँदै भने–‘यदि यसलाई हामीले संविधान सम्मत छ भनेर भन्यौं भने। यसलाई हामीले सदर गरिदियौं भने । त्यसैले यो कदम असंवैधानिक छ, अनधिकृत र अराजनीतिक छ।’
कार्यक्रममा कांग्रेस नेताहरु हरि लम्साल, खेलराज पाण्डे, विमलराज भट्टराई, ज्योति भण्डारीलगायतले बोल्दै प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसको आन्दोलन अरु चर्किदै जाने बताएका थिए।