बुटवल- नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले संसद पुर्नस्थापना कि निर्वाचन भन्ने प्रश्न नै गलत रहेको बताएका छन्। उनले प्रश्न गलत भएकाले सहि उत्तर नआउने उल्लेख गरे।
कांग्रेस बुटवल उपमहानगर समितिले आज ट्राफिकचोकमा गरेको कार्यक्रममा नेता थापाले भने ‘आजको प्र्रश्न संसद पुनस्थापनाको पक्षमा कि निर्वाचनको पक्षमा भनेर कसैले सोध्छ भने तपाँइले भनिदिनुहोस, प्रश्नै गलत छ।’ उनले गलत प्रश्नको सही उत्तर नआउने उल्लेख गरे।
आजको प्रश्न संविधानको पक्षमा हो कि होइन। ट्रयाकबाट बाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउने हो कि होइन, भन्नेमा केन्द्रित हुनुपर्ने थापाको भनाइ छ।
थापाले अब सबैको विश्वास अदालतमा भएको भन्दै अदालतले दायाँ बायाँ नहेरिकन फैसला गर्नुपर्ने बताए। 'बाहिर भइरहेको कुराले बेन्चमा बसेको श्रीमानलाई प्रभावित नगरोस्, हामीलाई कुनै प्रभावित गर्नु छैन।’ उनले भने 'बन्द कोठा भित्र भएको खासखुसले पनि प्रभावित नगरोस्।’ संविधान बमोजिमको कर्तव्यले मात्र न्यायाधिसलाइ प्रभावित गर्नुपर्ने उनको भनाइ छ।