बुटवल–सरकारले बैशाख १७ र २७ गतेको लागि घोषणा गरेको निर्वाचनको जिल्ला जिल्लामा पनि तयारी सुरु भएको छ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति घोषणा भएको थियो।
प्रतिनिधि सभा विघटन विरुद्ध सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्ष र अन्य दलले आन्दोलन गरिरहेका छन्। यस विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अहिले सुनुवाइ जारी छ।
निर्वाचन हुने या नहुने भन्ने अन्योल भइरहेको बेला जिल्ला निर्वाचन कार्यालयहरुले चुनावको तयारीको लागि विभिन्न काम थालिसकेका छन्।
रुपन्देहीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पुस २९ गते मतदान स्थल तथा मतदानकेन्द्र पुनरावलोकन समितिको बैठक बसेको थियो। जसमा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
छलफलका क्रममा स्थानीय तहका प्रमुखहरुलाई मतदान केन्द्रहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने राय सुझाब दिन आग्रह गरिएको थियो।
‘पालिका प्रमुखहरुलाई बोलाइएको थियो। मतदान केन्द्रहरु यथावत राख्ने कि ठाउँसारी गर्ने भन्ने बारे माघ ९ गतेसम्म रिपोटिङ गर्न भनेका छौं।’–उनले भने ‘उहाँहरुले स्थानीय तहको राजनीतिक संयन्त्रबाट सहमति गराएर ल्याउनुहुन्छ। त्यसमा हामीले आवश्यकता अनुसार संसोधन गर्छौं।’
आफूहरुले पनि विभिन्न ठाउँमा पुगेर मतदान स्थल निर्धारणको लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको भण्डारीले जानकारी दिए।
रुपन्देहीमा जिल्ला निर्वाचन कार्यालयले माघ १५ गतेदेखी २४ गतेसम्म मतदाता नामावलीको अध्यावधिक गर्ने समय तोकेको छ।
जस अनुसार माघ १५ गते सबै स्थानीय तहका केन्द्रमा त्यहाँको मतदाता नामावली प्रकाशित गरी सार्वजनिक गरिने छ। २४ गतेसम्म नामावली उपर दाबी विरोध र छानविनको समय तोकिएको हो।
कपिलवस्तुमा पनि मतदाता नामावली सार्वजनिक गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिए।
‘१५ गते सबै पालिकामा मतदाता नामावली टास्छौं। १६ र १६ गते त्यसमा दाबी विरोधको अवधि तोकिन्छ।, १८ गतेदेखि २० गते सम्म दाबी विरोध उपर छानविनको समय हुन्छ।’–उनले भने–‘मृत्यु भएका बसाइसराइ भएर गएकाको नाम परेमा ती नाम हटाइने छ।’
नामावली अध्यावधिकको लागि सबै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी तोकेको पन्थीले बताए।
यस्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कपिलवस्तुमा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठक बसिसकेको छ।
बैठकमा पालिकाका प्रमुखहरुलाई मतदान स्थल तथा केन्द्र निर्धारणमा सहजीकरण गरिदिन आग्रह गरिएको पन्थीले बताए। उनले छिट्टै सञ्चारमाध्यम मार्फत निर्वाचन सम्बन्धी सूचना र सन्देशको प्रचार प्रसार गर्ने तयारी गरेको जानकारी दिए।
गुल्मीमा माघ १६ गतेदेखि २१ गते सम्म मतदाता नामावलीको अद्यावधिक कार्य हुने छ। जसका लागि स्थानीय तहहरुमा सहायक जिल्ला अधिकारी तोकिएको छ।
उनीहरुलाई तालिम दिएर १० गतेदेखि नियुक्ति दिने गुल्मीका जिल्ला निर्वाचन अधिकारी श्याम पाण्डेले जानकारी दिए। यसैगरी स्थानीय तहका प्रमुखहरुलाई पनि मतदान स्थल र केन्द्र सम्बन्धी गृहकार्य गर्न भनेको उनले बताए।
जिल्ला निर्वाचन कार्यालयले चुनावको तयारी थाले पनि आम मतदाता र दलहरुमा चुनाव बारे अन्योल छ।
कांग्रेस कपिलबस्तुका जिल्ला सभापति सुरेन्द्रराज आचार्य पनि आफ्नो जिल्लामा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठकमा गएका थिए। तर चुनाव हुनेमा भने विश्वास गर्दैनन्।
‘मतदान केन्द्रहरु कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको थियो। मैले आफ्नो भनाइ राखें तर मलाई चुनाब हुन्छ भन्ने विश्वास छैन।’–उनले भने–‘अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्यो भने चुनाबको बाटै हरायो। विघटनलाई नै सदर गरे पनि मैले चुनावको वातावरण देख्दिन।’