बुटवल- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओलीका कारण भारतीय पत्रकारले नेपालको सगरमाथा माथि धावा बोलेको आरोप लगाएका छन्। उनले जी न्युजका पत्रकार सुधिर चौधरीलाई सगरमाथा पुग्न दिएर राष्ट्रघाती काम गरेको उल्लेख गरे। नेपाली कांग्रेस तिलोत्तमाले आज मणीग्राममा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्रीकै कारण भारतीय पत्रकार सगरमाथामा पुगेको बताए।
‘अन्तरवार्ता लिएपछि मलाई सगरमाथा जान छ भन्यो। प्रधानमन्त्रीले हेलिकप्टर व्यवस्था गरिदिनुभयो। फेदमा गएर सगरमाथाको नामै बदलीदिन्छु भन्यो।’ उनले प्रश्न गरे ‘संविधानको सपथ खाएको प्रधानमन्त्रीले विदशी पत्रकारलाई सगरमाथा माथि धावा बोल्ने अधिकार दिन हुन्छ ? यस्ता राष्ट्रघाती काम उहाँले गर्दै आउनुभएको छ।’
खाणले चिनलाई पनि सगरमाथा नाप्न दिएर प्रधानमन्त्रीले राष्ट्रियतालाई कम्जोर बनाएको उल्लेख गरे। आफ्नै देशले सगरमाथा नाप्ने हो भने कांग्रेसले नै बजेट उपलब्ध गराउन सक्ने उनले उल्लेख गरे। खाँणले लोकतान्त्रीक पद्धती र शासन व्यवस्था कम्जोर भएकाले विदेशीहरुले नेपालमा चलखेल चलखेलको अवसर पाएको दाबी गरे।
मुलुकमा कम्युनिष्टको सरकार भएकैले लोकतान्त्रीक पद्धती कमजोर भएको र लोकतन्त्र कम्जोर हुँदा राष्ट्रियता कम्जोर भएको खाँणले तर्क गरे। उनले राष्ट्रियता र नागरिक अधिकारको लागि कांग्रेसले जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताए।
नेता खाँणले अहिले पनि कम्युनिष्ट पार्टीलाई साथ दिनु जाडो महिनामा टिसर्ट मात्र लगाएर हिड्नु जस्तै भएको उल्लेख गरे। विश्वमा जनताले आफूलाई मालिकको रुपमा स्थापित गरेकाले कहिँ पनि निरंकुसता नटिक्ने उनको भनाइ छ। नेपालमा कम्युनिष्ट अधिनायकबाद ल्याउन खोजे पनि कम्युनिष्ट पार्टी असफल भएको खाँणको तर्क छ।