काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले केही पूर्व प्रधानन्यायाधीश बुद्धिजीवीहरुले आफ्नो हैसियतको दुरुपयोग गरेर अदालतलाई प्रभावित गर्न लागेको आरोप लगाएका छन्। राष्ट्रिय सभाको बैठकलाई आज सम्बोधन गर्दै ओलीले राजनीतिक पक्षधरताको आधारमा पूर्व प्रधानन्यायाधीश, नागरिक समाजका अगुवा र वुद्धिजीवीहरुले अदालतदलाई दबाब दिने काम गरेको बताए।
‘केही वर्ष न्यायालयमा जागिर खानेवित्तिकै अहिले पनि आफैँ न्यायालयमा छु झै गरेर केही पूर्व न्यायमूर्तिहरु, कस्तो न्याय दिनुभएछ उहाँहरुले आफ्नो कार्यकालमा भनेर मलाई अचम्म लाग्छ’ उनले भने ‘सडकमा ओर्लिएर स्वतन्त्र न्यायालयलाई उहाँहरु ललकारी रहनुभएको छ। यस्तो हुन्छ यस्तो हुँदैन, के सर्वोच्च अदालतमा वकालत नपढिकन, विना अनुभव पुग्नु भएको छ?’
प्रधानमन्त्री ओलीले संसद विघटनको विषय राजनीतिक प्रश्न भएको भन्दै अदालतले पनि त्यही अनुसार निरुपण गर्ने उल्लेख गरे। उनले आवश्यकताको सिद्धान्त अनुसार प्रतिनिधि सभा विघटन गरिएको जानकारी दिए।
ओलीले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ-छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए। अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे।
वर्तमान सरकार गठन भएयता भौतिक विकासनिर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आफ्नो सरकारले ऐतिहासिक काम गरेको प्रधानमन्त्रीको दाबी छ। आफूले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न उल्लेख्य पहल गरेको उनले बताए ।