काठमाडौँ – सत्तारुढ नेकपामा सभामुख चयनको विषय पेचिलो बनेपछि आज (शुक्रबार) बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका थियो । तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो ।
सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।
नेकपाले भावी सभामुखबारे औपचारिक निर्णय गरेको छैन। पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले सभामुखबारे निर्णय गर्ने नेताहरू बताउँछन्। तर सभामुखमा पूर्वसभामुख सुवास नेम्वाङकै सम्भावना रहेको उनीहरू बताउँछन्।
पुनःस्थापित प्रतिनिधिसभा, अन्तरिम व्यवस्थापिका, दुवै संविधानसभा र संविधान बनेपछिको रुपान्तरित संसद्मा नेम्वाङ सभामुख थिए। पार्टी र सरकारको स्पिरिट समात्न सक्ने, कानुन र संविधानका जानकार तथा अनुभवका कारण उनी नै सभामुख बन्ने सम्भावना रहेको नेकपाका नेता बताउँछन्।
महराको राजीनामालगत्तै आफू सभामुखमा इच्छुक नभएको सार्वजनिक अभिव्यक्ति दिएपछि पार्टीका अध्यक्षद्वयले सभामुखबारे नबोल्न निर्देशन दिएको नेम्वाङ बताउँछन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको रोजाइमा नेम्वाङ नै रहेको बालुवाटार स्रोत बताउँछ।
तर पूर्वमाओवादीका नेताहरू भने पूर्वमाओवादीकै कोटाबाट सभामुख बनाउन पार्टी अध्यक्ष दाहालमाथि दबाब दिइरहेका छन्। यसअघि पूर्वमाओवादीको कोटाबाट कृष्णबहादुर महरा सभामुख बनेकाले यसपटक पनि पूर्वमाओवादीकै कोटाबाट सभामुख बन्नुपर्ने उनीहरूको भनाइ छ। सभामुखमा पूर्वमाओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले चाहना व्यक्त गरेका छन्।