काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनको विरोधमा आगामी पुस २५ गतेदेखि माघ ७ गतेसम्म जनप्रदर्शन एवं विरोधका कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति जारी गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
विज्ञप्तिमा पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा, पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुरमा, पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोडमा, माघ ३ गते धरान, मंगलवा, सिरहा, कलैया, तौलिहवामा विरोध कार्यक्रम गर्ने उल्लेख छ ।
यी कार्यक्रममा अध्यक्षद्वय ठाकुर र यादव, पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै माघ ७ गते सबै जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ ।