भैरहवा- नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन गर्नु असंबैधानिक कदम कार्य भएको बताएका छन्। संविधानको जगबाट राष्ट्रपति र प्रधानमन्त्रीको संरचना बनेको भए पनि उनीहरुकै सिफारिस र प्रमाणितमा प्रतिनिधि विघटन हुँदा मुलुकले दुख पाएको बताए।
नेपाली कांग्रेसले भैरहवामा गरेको कार्यक्रममा नेता खाँणले जनताको अधिकार स्थापित नभएमा भोली लाखौं मानिस सडकमा आउने चेतावनी दिए । ‘आज हजार मात्र सडकमा आएका छौ ससंद पुर्नस्थापना भएन भने लाखौ सडकमा आउछौ ।’ उनले भने ।
हजारौँको रगत र लाखौको पसिनाबाट संविधान बनेको र संविधान अनुसार देशको मालिक नेपाली जनता आफैं भएको खाँणले बताए। सरकार मालिक नभई जनताको मौलिक अधिकारको व्यवस्था गर्ने सेवक रहेको र प्रधानमन्त्री ओलीले आफूलाई मालिक ठानेर जनताको अधिकार खोसेको उनको आरोप छ।
मिडीया विधेयकको नाममा स्वतन्त्र अधिकारलाई कुण्डित गर्ने, गुठी विधेयकको नाममा मौलिक संस्कृति माथी आच ल्याउने प्रयास गरेको खाणले उल्लेख गरे। भ्रष्टचारीको मुख हेर्दैन भन्ने प्रधानमन्त्री ओलीकै समूह सेक्युरिटी प्रेसको नामामा ७० करोड, कोरोनाको नाममा स्वास्थ्य क्षेत्रमा अर्ब बढि भ्रष्टाचार गरेको उनले आरोप लगाए । विरोध सभामा कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रदेश सभा सदस्य रमा अर्याल, नेता इस्तीयाक अहमद खान, क्षेत्रिय सभापति मात्रिका यादव, नगर सभापति दिलीप धिताल लगायतले आ आफ्ना भनाइ राखेका थिए।
नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रम अनुसार देशभरका १ सय ६५ वटै क्षेत्रमा प्रदर्शन गरको छ । जस अनुसार रुपन्देही क्षेत्र नम्बर २ को कार्यक्रम भैरहवामा भएको हो । कार्यक्रम अघि भैरहवाको बुद्ध चोकबाट निकालिएको विरोध ¥याली वर्मेली टोल, नारायण पथ, प्रहरी टोल मिलनचोक हुदै मैत्री पथमा पुगी सभामा परिणत भएको थियो।