काठमाडौं- नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टीको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ। चिनिया टोलीको प्रचण्डसँग उनकै निवास खुमलटारमा करिब डेढ घण्टा भेटवार्ता भएको हो।
भेटमा प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए। सो अवसरमा प्रतिनिधि सभा विघटन लगायत समसामयिक विषयमा कुराकानी भएको बताइएको छ। त्यसै गरी बानेश्वरको एभरेष्ट होटलमा अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालसँग पनि चिनिया कम्युनिष्ट पार्टीको टोलीले भेट गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो। टोलीले आइतबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।