काठमाडौं । केपी शर्मा ओलीले असंबैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि सडकमा ओर्लिएका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई केपी ओलीले घोषणा गरेको चुनावको जालमा नपर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने बताए । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’ उनले अघि भने, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’