बुटवल-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले जिल्लास्तरमा कार्यकर्ता भेटघाट र छलफल शुरु गरेको छ।
लुम्बिनी प्रदेशमा प्रचण्ड-नेपाल समूहले जिल्लाजिल्लामा नेता र कार्यकर्ता भेला गरेर आफ्नो पक्षमा पार्ने प्रयास थालेको छ। जसका लागि केन्द्रीय नेताहरु नै खटिएका छन्।
प्रचण्ड-नेपाल समूहले आइतबार लुम्बिनी प्रदेशका जिल्लामा भेला गर्दैछ। रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, बाँके, बर्दियामा कार्यक्रमको तयारी भएको नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन्।
रुपन्देहीमा घनश्याम भुसाल, ओनसरी घर्ती, विजय पौडेल, दधिराम न्यौपानेलगायतले सम्बोधन गर्दैछन्। केन्द्रीय सदस्य दधिराम न्यौपानेका अनुसार ७७ जिल्लाव्यापी भेलाको कार्यक्रमअनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा भेलाको आयोजना भएको छ।
भेलामा नेताहरुले नयाँ परिस्थितिअनुसार पार्टीका नेता कार्यकर्तालाई जानकारी गराउने र आगामी रणनीतिका बारेमा प्रशिक्षण दिने उनले जानकारी दिए।
नेकपा प्रचण्ड-नेपाल समूहका अनुसार जिल्लास्तरीय कार्यक्रमअनुसार कपिलवस्तुमा चक्रपाणि खनाल (बलदेव), गिरिधारीलाल न्यौपाने, विष्णु पन्थीलगायतले सम्बोधन गर्दैछन्। पाल्पाको भेलालाई नेता सोमनाथ पाण्डे, केन्द्रीय सदस्य ठाकुर गैरे, तुलाराम घर्तीले सम्बोधन गर्नेछन्।
अर्घाखाँचीको भेलालाई रामकुमारी झाँक्री, डिलाराम आचार्य र सुशीला श्रीपालीले तथा रुकुम पूर्वमा गणेशमान पुनले सम्बोधन गर्ने छन्।
दाङमा युवराज ज्ञवाली, कृष्णबहादुर महरा, मेटमणि चौधरीले सम्बोधन गर्नेछन्। बाँकेमा योगेश भट्टराई, पूर्णाकुमारी सुवेदी, महेश्वर गहतराज, बर्दियामा हिमाल शर्मा, सन्तकुमार थारु, गुल्मीमा सुदर्शन बराल, दिनेश पन्थीलगायतले सम्बोधन गर्नेछन्।
लुम्बिनी प्रदेशका १२ जिल्ला अध्यक्षमध्ये दाहाल-नेपाल समूहतिर ६ जना जिल्ला अध्यक्ष खुलेर लागेका छन् भने ओली समूहतिर पाँचजना खुलेका छन्।
प्युठानका जिल्ला अध्यक्ष तुलसीराम शर्मा भने वामदेव गौतम समूहका भएकाले उनी अलमलमा छन्।
दाहाल-नेपाल समूहमा नवलपरासी पश्चिममा भविश्वर तिवारी, दाङका टीकाराम खड्का, बाँकेका आईपी खरेल, बर्दियामा भवनकुमार थारु, रोल्पाका सुरेन्द्र घर्ती, रुकुम पूर्वका मेघबहादुर श्रेष्ठ खुलेर लागेका छन्।
ओली समूहमा रुपन्देहीका शिवराज सुवेदी, कपिलवस्तुका झविलाल पोख्रेल, अर्घाखाँचीका चेतनारायण आचार्य, गुल्मीका मधुकृष्ण पन्त र पाल्पाका नारायण आचार्य खुलेर लागेका छन्।
लुम्बिनी प्रदेशका जिल्लाहरुमा केन्द्रीय नेताहरु पनि केपी ओली र प्रचण्ड-नेपाल पक्षमा विभाजित छन्। सबैजसो जिल्लामा केन्द्रीय तहका नेताहरु दुइपक्षमा रहेका छन्। रुपन्देहीका विष्णु पौडेल ओली पक्षमा छन् भने घनश्याम भुसाल प्रचण्ड-नेपाल पक्षमा छन्।
गुल्मीमा प्रदीप ज्ञवाली ओली पक्षमा छन् भने गोकर्ण विष्ट प्रचण्ड नेपाल खेमामा छन्। दाङमा शंकर पोखरेल ओली समूहमा छन् भने कृष्णबहादुर महरा, युवराज ज्ञवाली प्रचण्ड नेपाल पक्षमा छन्। पाल्पामा सोम प्रसाद पाण्डे प्रचण्ड नेपाल समूहमा छन् भने दलबहादुर राना ओली समूहमा छन्।
यस्तै कपिलवस्तुमा चक्रपाणि खनाल बलदेव प्रचण्ड नेपाल समूहमा लागेका छन् भने बलराम अधिकारी ओली समूहमा खुलेर लागेका छन्।
रोल्पामा ओली समूह कमजोर छ। वर्षमान पुन र ओनसरी घर्ती प्रचण्ड नेपाल समूहमा छन्। रोल्पामै रामबहादुर थापा पक्षका भनिएका कुलप्रसाद केसी पनि प्रचण्ड नेपाल पक्षमा छन्। अर्घाखाँचीमा प्रचण्डका विश्वासपात्र मानिने टोपबहादुर रायमाझी भने ओली समूहमा गएका छन्।