काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपासम्बद्ध प्रदेश सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । आजमात्रै सोही समूहका सांसदहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको थिए ।
मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको त्यहाँका एक प्रदेश सांसदले बताए । प्रदेश सभा पनि भंग गर्ने खतरा भएकाले त्यस्तो निर्णयमा पुगेको उनको भनाइ छ ।
प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन् । जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन् । २०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए ।
विभाजित दुई नेकपाबीच सरकार सञ्चालनमा सहकार्य नभए प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद गुम्ने लगभग पक्का छ । ९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ सांसद छन् ।
जसमध्ये अध्यक्ष प्रचण्ड र नेपालको पक्षमा ४७ र प्रधानमन्त्री ओलीको पक्षमा अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० सांसद मात्रै छन् । प्रमुख प्रतिपक्षी कांग्रेससहितका अन्य दलहरूसँग मिल्दासमेत राईले बहुमत अर्थात् ४७ सांसद पुर्याउन नसक्ने स्थिति छ । प्रदेश सभामा कांग्रेसका २१, जनता समाजवादी दलका तीन तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सांसद छन् ।