बुटवल । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सधैं गणतन्त्र र संघीयता विरोधी रहँदै आएको बताएका छन् । आज आयोजित आफू पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकको पत्रकार सम्मेलनमा बोल्दै माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गणतन्त्र प्रति अपनत्व नभएको बताएका हुन् । नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो ।’
उनले ओलीको ‘केपी बा’ प्रवृत्ती नै गणतन्त्र विरोधी भएको तर्क गरे । ‘‘केपी बा’ संस्कार विरुद्ध जुधिएन भने दास बन्नुपर्ने हुन्छ ।’ उनले भने ।
तत्कालीन एमालेमा पनि ओलीले गणतन्त्रबारे फरक मत राख्दै आउँदा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए ।
साथै उनले केपी ओलीसँग व्यक्तिको लडाई नभई कम्युनिष्ट विचार र सामान्ती बिचार बिचको लडाइँ भएको उनको तर्क थियो । ‘सहमतीको कुल कुरा कम्युनिष्ट आन्दोलनको सिद्धान्त, पद्धती, विधान, तिनीलाई दह्रो गरी समातेर अगाडि बढाउन पर्छ । कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको आन्दोलन एकै सिक्काका दुई पाटा हुन् ।’ उनले भने ।