काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेतामाथि कारबाही नगरिएको र नगरिने बताएका छन्।
आज आफू निकटको केन्द्रीय कमिटी बैठकमा नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीभित्रका केही नेताले पार्टीको हित तथा नीतिविपरीत काम गरेपनि आफूले कसैलाई कारबाही नगरेको प्रष्ट पारेका नवनियुक्त पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकमा अध्यक्ष ओलीले यसअघिकै पूराना भनाई दोहर्याएका थिए। उनले पार्टीभित्रैबाट केहीले आफूलाई काम गर्न नदिएका, सरकार सञ्चालनमा बाधा पुर्याएको तथा आफूमाथि विनाकारण लाञ्छना लगाइएको बताए। ओलीले सरकार सञ्चालन गर्न निकै कठिन अवस्था आएपछि र अगाडि बढ्नै नसक्ने भएपछि बाध्य भएर नयाँ जनादेशका लागि संसद विघटन गर्नुपरेको बताए।
आफ्नो कदम असंवैधानिक नभएको पनि ओलीले दाबी गरे। उनले आफूलाई सरकार सञ्चालन गर्न नदिएर अवरोध सिर्जना गर्दा जनतामाझ जान्छु भन्दा कसरी असंवैधानिक हुन्छ भन्दै प्रश्न गरे।
ओलीले पार्टी विभाजन नभएको र संसदमात्र विघटन भएको बताए। उनले आफू पार्टी विभाजनको पक्षमा नरहेको पनि बैठकमा स्पष्ट पारे।
सरकारका राम्रा काम लिएर जनतासमक्ष जान पनि पार्टीका नेता तथा कार्यकर्तालाई ओलीले आग्रह गरे।
यस्तै बैठकले पार्टीको एकता महाधिवेशन आगामी वर्षको मंसिर २ गते काठमाडौंमा गर्ने निर्णयसमेत गरेको छ।
पार्टी प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीलाई दिएको छ। यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठले पार्टीहितविपरीत काम गरेको तथा आफ्ना कुरामात्र राखेकाले उनलाई जिम्मेवारीबाट हटाइएको र उक्त जिम्मेवारी आफूलाई दिइएको ज्ञवालीले बताए।
प्रमुख प्रतिपक्षी दलसहित केही दलहरु संसद विघटनको विपक्षमा छन्। उनीहरु निर्वाचनमा नजाने बताइरहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले सबै दलले निर्वाचनको तयारी गरिसकेको र त्यसमा लागिसकेको जानकारी आफूहरुमाझ आइसकेको र निर्वाचनमा जानुबाहेकको विकल्प नरहेको बताए।