काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफूसमर्थित सांसदहरुलाई सम्बोधन गर्दै विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको बताए ।
त्यस्तै ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप लगाएका छन् । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् । सरकारको काममा पनि एकपछि अर्को गर्दै अड्चन ल्याएर काम गर्नै दिएनन्,’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै भेलालाई सम्बोधन गर्दै उद्योगमन्त्री लेखराज भट्टले ओलीको नेतृत्वमा अब उदाहरणीय विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने बताएका थिए । भेलालाई पार्टीका महासचिव विष्णु पौडेलले पनि सम्बोधन गरेका थिए ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको भेलामा गृहमन्त्री रामबहादुर थापा, सांसदहरु रघुवीर महासेठ, कृष्णप्रसाद दाहाललगायत भने अनुपस्थित रहेका थिए । गृहमन्त्री रामबहादुर थापा भने भेलामा सहभागी भएका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।