काठमाडौँ,- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक फेरि बोलाएका छन् । विहिवार साँझ ५ बजेका लागि बैठक बोलाएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटिमा अध्यादेश फिर्ता लिन बुधबार सहमत भएका थिए। तर अहिलेसम्म अध्यादेश फिर्ताको सुचना आएको छैन।
परिषदको बैठकमा विपक्षी दलका नेता शेरवहादुर देउवा नजाने भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटालाई बैठकबारे जानकारी नआएको उनको सचिवालयले जनाएको छ। गत आइतबार प्रधानमन्त्रीले बोलाएको बैठकमा विपक्षी दलका नेता देउवा र सभामुख अग्नी सापकोटा उपस्थित भएका थिएनन्।
मंगलबार विहान बोलाइएको बैठकमा देउवा सहभागी भएपनि सभामुख सापकोटा सहभागी भएका थिएनन्। उपसभामुख पद रिक्त रहेकाले संबैधानिक परिषदको बैठक बस्न पाँचै जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने कानूनी व्यवस्था छ।
सभामुख नआएपछि मंगलबार दिउसो प्रधानमन्त्री ओलीले राष्ट्रपति मार्फत संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराएका थिए। अध्यादेशमा तत्काल कायम रहेको बहुमत सदस्य सहभागी भएमा बैठक बस्न सक्ने व्यवस्थ छ। त्यसै अनुसार मंगलबार साँझ प्रधानमन्त्रीले परिषदको बैठक बोलाएपनि कुनै निर्णय भएको थिएन।
बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता लिन ओली सहमत भएपनि अहिले सम्म फिर्ता लिइएको छैन। सत्तारुढ नेकपा भित्रको आन्तरिक विबादको असर पछिल्लो पटक संबैधानिक परिषदको बैठकमा परेको छ।