काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् ।
बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ । महासचिव विष्णु पौडेलसहित सहभागी भएको छलफलमा ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएका हुन्।
सरकारको सिफारिशमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्। मन्त्रीपरिषदको सिफारिसमा उनले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।
संबैधानिक परिषदको बैठकमा निर्णय लिन सजिलो होस भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति मार्फत अध्यादेश ल्याएका हुन्। मंगलबार विहानको बोलाइएको संबैधानिक परिषदको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटा उपस्थित नभएपछि बैठक रोकिएको थियो। सत्तारुढ नेकपा भित्रको विवादका कारण सापकोटा बैठकमा अनुपस्थित भएको बताइएको छ। अध्यादेश आएपछि प्रधानमन्त्री ओलीलाई संबैधानिक निकायहरुमा नियुक्तीको बाटो खुलाउन सहज भएको छ।
संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि ऐनको दफा ६ को उपदफा ३ मा बैठक बस्न अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने व्यवस्था छ। अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ ।