बुटवल-नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको केन्द्रीय समितिमा ४० वर्ष मुनिका युवा नहुनु दुर्भाग्य भएको बताएका छन्। नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेसनको आज रुपन्देहीको भलवारीमा उद्घाटन गर्दै कोइरालाले मुलुकको भविश्य युवाहरुमा निर्भर भएको भन्दै मुल राजनीतिमा युवाहरुको सहभागीता हुनुपर्ने बताए।
‘नेपाली कांग्रेसको केन्द्रीय समितिमा ४० वर्ष भन्दा तलको मान्छे नै छैनन् यो दुर्भाग्य हो।’ उनले भने ‘किन भने भविष्य भनेको युवाहरुमा निर्भर गर्दछ।’
कोइरालाले युवाहरुको भविष्य दक्ष बनाउन तर्फ क्रियाकलाप अघि बढाउनुपर्ने बताए। ‘६० प्रतिसत युवा ४० वर्ष मुनिका छन्। उनीहरुलाई प्रयोग गरेर हामीले देश निर्माण तिर जान सक्नुपर्छ।’ कोइरालाले भने।
मुलुकको विकासमा नेपाली कांग्रेसको ठूलो योगदान रहेको भन्दै उनले अहिलेको सरकारले कुनै सिन्को भाच्न नसकेको उल्लेख गरे। ३ वर्षको अवधिमा सरकारले केही नगरेको कोइरालाको भनाइ छ। ‘यो दुइ तिहाइको सरकारले एउटा नयाँ प्रोजेक्ट दिन सकेका छैनन्। सपना नै छैन कि के हो ?’ उनले भने। सरकारको विरुद्धमा थोरै आलोचनाका शब्द खर्चिएपनि नेता कोइरालाले मंगलबार जारी भएको अध्यादेशका बारेमा केही बोलेनन्।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले जेसीजले गरेको काम प्रसंसनिय भएको बताए। उनले कोरोना महामारीका बैदेशिक रोजगारीमा रहेका युवाहरु नेपाल भित्रीएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्ने बताए।
नेपाली जेसिजका राष्ट्रिय अध्यक्ष अशोक शंकरले नेपालमा चार-पाँच वटा शासकिय व्यवस्था फेरिँदा पनि नेपालमा राजनीतिक विकृती उस्तै रहेको बताए। राजनीतिक विकृती हटाउन र मुलुक बनाउन अब युवाहरुले भूमिका खेल्नुपर्ने उनकाे भनाइ छ।