बुटवल- अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले बर्तमान सरकार पुरा कार्यकाल टिक्ने दाबी गरेका छन्। उनले पार्टी भित्रको विबादले सरकार अन्योलमा नपर्ने र पुरा ५ वर्ष टिक्ने उल्लेख गरे । बुटवलको कान्ति माविमा शैक्षिक तथा छात्राबास भवनको मंगलबार सिलन्यास गर्दै पौडेलले सरकार विकास र समृद्धिमा प्रतिबद्ध भएर लागेको बताए। ‘जनतामा गरेको प्रतिबद्धता र घोषणा पत्रमा उल्लेख भएका धेरै कुरा ५ वर्षको अवधिमा पुरा पुरा हुन्छ।’ उनले भने ।
पौडेलले नेकपाको अस्तीत्व र पार्टी एकतामा कसैले चुनौति दिन नसक्ने दाबी समेत गरे । ‘सरकार विकास र समृद्धिमा प्रतिबद्ध भएर लाग्ने छ । पार्टी विग्रहमा भविश्य देख्नेह्ररु छन्। तर विग्रहको कल्पना नगरे हुन्छ।’ उनले भने।
रुपन्देही क्षेत्र नम्बर २ का सांसद समेत रहेका मन्त्री पौडेलले यो जिल्ला देशकै महत्वपूर्ण आर्थिक पर्यटकिय केन्द्र बन्दै गरेको उल्लेख गरे। लुम्बिनी गुरुयोजना २ वर्षमा पुरा हुँदै छ। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुटवलको अन्तराष्ट्रिय सभाहलको निर्माण केही महिनामै सम्पन्न हुँदै छ ।’ उनले भने ‘ यी पूर्वाधार सम्पन्न भएमा रुपन्देही लुम्बिनी प्रदेशको मात्र नभइ सिंगो राष्ट्रको आर्थिक पर्यटकिय केन्द्र बन्ने छ।
मन्त्री पौडेलले कालिगण्डकी तिनाउको डाइभर्सनको डिपिआर यसै आर्थिक वर्षमा सम्पन्न बताए। उनले राजमार्ग चौराहदेखी चिडियाखोलासम्मको सडक विस्तार छिटो सक्ने वातावरण बनाएर बुटवलको विकासमा सहयोगी बन्न बुटवलबासीलाई आग्रह गरे।
सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा प्राविधिक विकास कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट कान्ती माविमा ४ तले २ वटा शैक्षिक भवन र ३ तले २ वटा छात्राबासको भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि अर्घाखाँची लुम्बिनी जेभीसँग १३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको छ। सम्झौता भएको २ वर्षमा भवनको निर्माण पूरा गर्नुपर्ने छ ।