बुटवल-नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन शुरु भएको छ । पार्टीको निर्णय अनुसार ७७ वटै जिल्लामा विरोध प्रदर्शन सुरु भएको हो । वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका काम गरेको कांग्रेसको आरोप छ ।
कोरोनाको नियन्त्रणको नाममा भएको अनियमितता र अध्यादेशको मुद्दा पनि काँग्रेसले सडकमा उठाउने भएको छ । तनहुमा पुल उद्घाटनको क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध प्रशासनले गरेको दुर्व्यवहार तथा पक्राउलाई प्रदर्शनको मुद्दा बनाइएको छ ।
सम्बोधनका लागि सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिबाटिकामा सम्बोधन गर्दैछन् ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा सम्बोधन गर्दैछन् । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने केन्द्रीय कार्यालय सानेपामा बसेर देशभरका कार्यक्रमको जानकारी लिने र समन्वय गर्ने भूमिकामा छन् ।
यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।
रुपन्देहीको भैरहवाका विभिन्न स्थानको परिक्रमा पछि सभामा परिणत हुने प्रर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे र नेता भरतकुमार शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।