काठमाडौँ–बालुवाटारमा आज बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । सचिवालयको अर्को बैठक मंसिर १६ गते फेरी बस्ने गरी सकिएको छ । बैठकमा ओलीले पेश गरेको प्रस्तावको अध्ययन गर्न सचिवालयको सदस्यहरुलाई समय दिइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘प्रस्तावको अध्ययन गर्ने र यसबीचमा आवश्यक छलफ र गृहकार्य पनि गरेर अर्को बैठक १६ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्छ ।’ पत्रकारहरुसँग श्रेष्ठले भने ।
गत कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि नेकपाको विबाद थप उत्कर्षमा पुगेको छ । मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष ओलीले प्रस्तावको सम्बन्धमा जवाफ दिन १० दिनको समय मागेका थिए । जस अनुसार आजको बैठकमा ओलीको जवाफ सहितको प्रस्ताव पेश भएको हो । पार्टी भित्र आन्तरिक विवाद तिब्र भइरहेका बेला मंसिर १८ गते स्थायी कमिटीको बैठक र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाइएको छ ।