सैनामैना - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताएका छन् । सैनामैनामा निर्माण सम्पन्न भएका नवनिर्मित दुई विद्यालय भवनको बुधवार विहान उद्धघाटन गर्दै पौडेलले यस क्षेत्रका ठूला तथा साना आयोजनालाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताएका हुन् । ‘शहरीकरणको महत्वलाई ठिक ढंगले बुझ्न सकेनौँ ,भने हामी वास्तवमा कंक्रिटको जंगलमा बदलिन सक्ने खतरा जहिले पनि रहन्छ’ उनले भने ‘त्यसैले सैनामैनालाई कंक्रिटको जंगल हैन, आधुनिक र व्यवस्थित शहरका रुपमा बदल्न चाहन्छौँ । ’
सैनामैना वडा नं ३ मा रहेको लामिरह उच्च बाँध निर्माण आयोजना सैनामैनाको मात्र नभएर राष्ट्रिय गौरवको आयोजना भएको पौडेलको भनाइ छ । मेचीदेखि महाकाली सम्म चुरे पर्वत शृङ्खलाको सदुपयोगका सन्दर्भमा लामिरह बाँध निर्माण गर्ने, पानी संकलन गर्र्नेे र संचित पानीलाई सिँचाई र पर्यटनका निम्ति यसले महत्वपुर्ण भुमिका खेल्ने पौडेलको भनाइ छ । ‘पुर्वदेखि पश्चिम सम्म यस प्रकारको आयोजनाको परिकल्पना गरेर निर्माणका निम्ति गरिएका पुर्वअभ्यासहरु अन्यत्र छैनन् । त्यस दृष्टिकोणले पनि यो लामिरह आयोजना पहिलो हो, डिपिआर निर्माण प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने ।
सैनामैना १ मा रहेको ऐतिहासिक स्थल रानिकुवाको नजिकै गौतम बुद्ध सँग सम्बन्धित पुरातात्विक वस्तुहरुको संग्रह गरि आधुनिक व्यवस्थित संग्रहालयको निर्माण प्रक्रिया समेत अगाडि बढेको उनले जानकारी दिए । त्यस्तै बुटवलबाट चन्द्रौटा हुँदै धानखोला सम्मको सडकका निम्ती नेपाल सरकारले आवश्यक बजेटको प्रबन्ध गरेको भन्दै पौडेलले यो सडकलाई पनि एउटा एक्सप्रेस हाइवेको रुपमा विकास गर्ने तयारी गरिरहेको बताए ।
सैनामैना चक्रपथले नगरलाई नयाँ उचाईमा उठाउन सहयोग गर्ने तथा बुटवल र सैनामैनामाको सिमा कर्शाघाटमा बन्न लागेको कृषि उपज केन्द्र कृषि उत्पादनलाई प्रोत्साहित गर्ने महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ ।
सैनामैनामा रहेका महत्वपुर्ण आयोजनाहरु ल्याण्ड फिल्ड साइड, सालझण्डी ढोरपाटन सडक, जेष्ठ नागरिक ग्राम, सडक तथा भौतिक पुर्वाधार, खेलकुद , विद्यालय लगायत विकास निर्माणका अन्य कामहरुमा समेत आवश्यक बजेटको अभाव हुन नदिने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
पौडेलले बुधबार सैनामैना नगरपालिका वडा नं १ रानिवगियामा रहेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन र वडा नं ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयको १६ कोठेको भवनको उद्धघाटन गर्दै गुणस्तरीय शिक्षाका लागि आवश्वयक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सैनामैना पर्रोहा परमेश्वर माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकासबाट रु ३५ लाख, समपुरक अनुदान २० लाख, विद्यालय भौतिक पुर्वाधार निर्माण अनुदानबाट ३६ लाख, उपभोक्ताबाट २७ लाख ९३ हजार ५ सय ५० गरी कूल रु.१ करोड १८ लाख ९३ हजार ५ सय ५० मा निर्माण सम्पन्न भएको हो । त्यस्तै पर्रोहा माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकासबाट ६५ लाख, समपुरक अनुदानबाट ५० लाख गरी कूल १ करोड ९५ लाख विनियोजन भएकोमा रु. १ करोड ६१ लाख खर्च गरी १६ कोठे भवन निर्माण सम्पन्न भएको हो ।