बुटवल–नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा मर्यादाबाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुने बताएका छन् ।
नेकपाको आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको उनले बताए ।
बुटवलमा प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीमा अनयास समस्या प्रकट भएको र त्यसको समाधानको प्रयन्त भइरहेको बताए ।
उनले मर्यादाबाहिर गएर भएका आरोपप्रत्यारोपका अभिव्यक्तिलाई रोकेर मर्यादाभित्र ल्याएर पार्टीलाई पुनः एकताबद्ध बनाउने विश्वास व्यक्त गरे ।
‘पार्टीमा अहिले मर्यादाबाहिर गएर जुन खालका आरोपप्रत्यारोपहरु भएका छन्, ती सबैलाई मर्यादाबाहिर ल्याएर पार्टीलाई अरु बलियो बनाउने गरी प्रयास भइरहेको छ, उनले भने ।
उनले पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयहरुलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने बताए ।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताव र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्ने प्रस्तावलाई एकीकृत बनाएर ल्याइने भन्ने विषयमा भने प्रष्ट पारेनन् ।
‘यसबारे म अहिले यही हुन्छ भनेर अहिले नै भन्न त सक्दिन, तर हामी निरन्तर छलफलमा छौं, छलफलले पहिलेभन्दा पनि अरु बलियो र एकताबद्ध भएर पार्टीलाई अघि बढाउने गरी निर्णय आउँछ–उनले भने–यसमा पार्टीपंक्तिभित्र आरोपप्रत्यारोप हैन कि सबैतिरबाट प्रयास र पहल जरुरी रहेको छ।’
उनले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा छलफल नभएको बताए । उनले संवैधानिक अंगमा हुने नियुक्तिका विषयमा छलफल भएको बताउँदै अनावश्यक विषयहरु बाहिर आएको बताए ।
‘प्रमुख प्रतिपक्षी दलका नेतासँगको सहमतिमै संवैधानिक अंगमा नियुक्ति गर्नुपर्ने भएकाले त्यही विषयमा छलफल भएको हो, सत्ता समीकरणमा साथ दिने भन्ने कुरा नै भएको होइन, त्यसमा विषय प्रवेश पनि भएको थिएन,–उनले भने–नेकपासँग स्पष्ट बहुमत भएकाले अरु दललाई सरकारमा ल्याउने भन्ने विषयमा छलफल गर्न आवश्यक पनि छैन र त्यसरी छलफल भएको छैन ।’
उनले सरकारले जनसरोकारका विषयमा गम्भीरतापूर्वक विषयहरुलाई लिएको र ती विषयहरुमा निर्णयहरु हुँदै जाने बताए ।
‘जनसरोकारका विषय र जनचासोका विषयहरुमा अर्थ मन्त्रालयले गर्ने काममा अर्थ मन्त्रालयले एकदमै गम्भीर रुपमा काम गर्छ भने अर्थमन्त्रालयबाट हुन नसक्ने काम मन्त्रिपरिषदमा जान्छन् र त्यहाँबाट निर्णय हुन्छ,–उनले भने ।
मन्त्री पौडेलले आफुमाथि लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्री साटेको भन्ने आरोपको खण्डन गर्दै त्यसरी साट्नुपर्ने आवश्यकता नरहेको बताए ।
‘मलाई अर्थमन्त्रीसँग राजधानी साट्यो भन्ने जुन कुरा छ, यसमा सत्यता छैन, प्रदेश राजधानी प्रक्रियागत रुपमा संसदले तय गर्ने हो र त्यही भएको छ, उनले तर्क गरे–म यसअघि अर्थमन्त्री नभएको र त्यहाँ जानका लागि साट्नुपर्ने पनि थिएन, मलाई प्रधानमन्त्रीले आवश्यक ठानेर आफ्नो टीममा राख्नुभएको हो, राजधानीसँग साटेर होइन, यो भ्रमको पछि नलाग्न अनुरोध गर्छु ।’
मंगलबार बुटवल आएका उनी बुधबार र बिहीबार रुपन्देहीका विकास निर्माणका कामको अनुगमन, शिलन्यास र उद्घाटनका कार्यक्रमहरुमा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।